२०८३ आश्विन २४ गते शनिवार
काठमाडौं । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री किरण थापामगरले लिने विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।
मुख्यमन्त्रीको नियुक्तिसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै कांग्रेसले विश्वासको मत लिनु असंवैधानिक र अदालतको अवहेलना हुने दाबी गरेको हो।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले विज्ञप्ति जारी गर्दै भदौ ९ गते दिउँसो ४ बजेका लागि तय भएको विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुन प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेका हुन्।
कांग्रेसका अनुसार मुख्यमन्त्री किरण थापामगरको नियुक्तिसम्बन्धी मुद्दा उच्च अदालत पाटन, हेटौँडा इजलासमा विचाराधीन छ। संविधानको धारा १९१ ले अदालतमा विचाराधीन विषयमा प्रदेशसभामा छलफल गर्न बन्देज लगाएको भन्दै कांग्रेसले यसअघि पनि प्रक्रिया रोक्न सभामुखलाई आग्रह गरेको थियो।
अदालतले भदौ १० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको अवस्थामा त्यसको अघिल्लो दिन नै विश्वासको मत प्रक्रिया अघि बढाउनु अदालतको अवहेलना भएको कांग्रेसको आरोप छ।
कांग्रेसले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै तटस्थ र मर्यादित भूमिका निर्वाह गर्न आग्रह गरेको छ। मुख्यमन्त्री नियुक्तिको कानुनी विवाद समाधान नभएसम्म संसद्को प्रक्रिया अघि बढाउनु लोकतान्त्रिक मूल्य र मान्यताको विपरीत हुने कांग्रेसको भनाइ छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij