२०८३ मंसिर ४ गते शुक्रवार
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन् । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शिर्ष नेताहरूसँग निर्वाचन आयोगले गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
उनले निर्वाचनको वातावरण निर्माण गर्ने कुरामा आयोग आफैंले सबै जिम्मेवारी उठाउने भन्दा पहलकदमीका लागि समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने पार्टीको धारणा रहेको बताएका छन्। उनले सरकारले राजनीतिक दल र प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्न खोजिरहेको भन्दै निर्वाचनका सम्बन्धमा यस्तो व्यवहार र कार्यशैली स्वीकार्य नहुने समेत बताएका छन् ।
प्रदेश र स्थानीय तहकाने निर्वाचन एकै समयमा गर्ने सम्बन्धमा आयोगमा छलफल भएको उल्लेख गर्दै विशिष्ट परिस्थितिमा एकै मितिमा निर्वाचन गर्न सकिने सम्बन्धमा दलहरुबीच अझै बहस र छलफलको आवश्यकता रहेको पनि बताएका छन् ।
उनले भने,‘ निर्वाचनको निष्पक्षता सुनिश्चितता गर्ने कुरामा सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हो । तर सरकारले अरु कयौँ विषयहरुमा म नेपालमा कुनैपनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्षीलाई चिन्दिनँ, कसैलाई पनि चिन्दिनँ, कसैलाई गन्दिनँ, कसैलाई मान्दिनँ भन्दै गर्दा अरु कुरामा सरकारको काम कारबाही चल्छ तर निर्वाचनमा चल्दैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij