Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

लेखा समिति बैठक

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन


  • 71
    Shares

    • images
    सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

    समितिले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र ऊर्जा मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

    समिति सभापति भरतबहादुर खड्काले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै प्राप्त कागजात अध्ययनपछि थप छलफल गरिने बताएका छन् ।

    आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गरिएको भन्दै समितिमा उजुरी परेको थियो । बोलपत्रमा सहभागी ६ कम्पनीमध्ये तीन कम्पनी प्राविधिक मूल्यांकनमा योग्य भएका थिए ।

    तर आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला ठेक्का रद्द भएपछि त्यसको कानुनी आधार र औचित्यमाथि प्रश्न उठेको हो । विभागका महानिर्देशक रजौरियाले भने संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार ठेक्का रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।

    आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका विभिन्न क्षेत्रमा करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने तथा २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ वैशाख २६ गते भए पनि त्यसपछि निर्माण कार्य अघि बढ्न सकेको छैन ।  

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - ११:१८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij