२०८३ मंसिर ८ गते मंगलवार
काठमाडौं । जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा जवाफ दिँदै उनले सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनअनुसार खरिद प्रक्रिया अघि बढाउन बोलपत्र रद्द गरिएको स्पष्ट पारे ।
उनका अनुसार एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल संरचनाको खरिदमा रेटेड प्वाइन्ट क्राइटेरिया अपनाउनुपर्ने व्यवस्था छ । यसबाट निर्माण व्यवसायीको प्राविधिक क्षमता, अनुभव र कार्यसम्पादनको समग्र मूल्यांकन गर्न सकिने उनले बताए ।
आयोजनाको बाँध, विद्युत् गृहलगायत संरचना निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा सहभागी ६ कम्पनीमध्ये तीन कम्पनी प्राविधिक मूल्यांकनमा योग्य भएका थिए । आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला ठेक्का रद्द भएपछि विवाद उत्पन्न भएको थियो ।
रजौरियाले निर्णय सार्वजनिक हित, पारदर्शिता र कानुनी प्रक्रिया सुनिश्चित गर्न गरिएको दाबी गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij