Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

अयोध्याबाट जनकपुर आइपुग्यो सरयू कमला एक्सप्रेस

अयोध्याबाट जनकपुर आइपुग्यो सरयू कमला एक्सप्रेस


  • 351
    Shares

    • images
    अयोध्याबाट जनकपुर आइपुग्यो सरयू कमला एक्सप्रेस

    काठमाडौं ।  भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट जनकपुरधामका लागि छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ ।

    सोमबार दिउँसो अयोध्याबाट प्रस्थान गरेको रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको हो । रेलमा सवार तीर्थयात्रीलाई नेपाल र भारतका राष्ट्रिय झण्डासहित सरकारी प्रतिनिधि तथा स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् ।

    नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार १७ डब्बा रहेको उक्त रेलमा एक हजारभन्दा बढी तीर्थयात्री जनकपुरधाम आएका छन् । रेल्वे स्टेशनमा सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको थियो ।

    भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट संयुक्त रूपमा झण्डा देखाएर रेललाई बिदाइ गरेका थिए ।

    नेपाल र भारतबीचको ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले जनकपुरधाम–अयोध्या रेलसेवा सञ्चालन गरिएको हो । अयोध्या भगवान् रामको जन्मभूमि तथा माता जानकीको ससुराली हो भने जनकपुरधाम माता जानकीको जन्मभूमि तथा भगवान् रामको ससुरालीका रूपमा परिचित छ ।

    जनकपुरधाम आइपुगेका तीर्थयात्रीले जानकी मन्दिरलगायत धार्मिक स्थलमा पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरले पनि तीर्थयात्रीका लागि दर्शन तथा पूजाको व्यवस्था गरेको जनाएको छ ।

    तीन घण्टाको बसाइपछि तीर्थयात्रीहरू पुनः रेल्वे स्टेशन फर्किएर दिउँसो १ बजेसम्म अयोध्याका लागि प्रस्थान गर्ने तालिका रहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

    यस रेलसेवाले नेपाल–भारतबीचको धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै दुई देशबीचको सदियौँ पुरानो रोटीबेटी सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - १०:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij