२०८३ आश्विन २४ गते शनिवार
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले लुम्बिनी प्रदेशका तीन जना प्रदेश सभा सदस्यसँग पुनः स्पष्टीकरण माग गरेको छ।
पार्टीको स्पष्ट निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको आरोप लगाउँदै जसपा नेपालले रूपन्देहीका सन्तोष कुमार पाण्डे, लुम्बिनीका हेमा बेलवासे र बाँकेका भण्डारी लाल अहिरसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
केन्द्रीय कार्यालयबाट मंगलबार महासचिव डा. सुरेन्द्र कुमार झाद्वारा हस्ताक्षरित पत्रमार्फत सांसदहरूलाई स्पष्टीकरण माग गरिएको हो। पार्टीले यसअघि भदौ १ गते पत्र पठाउँदै लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र विपक्षमा मतदान गर्न निर्देशन दिएको थियो।
तर पार्टीको निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरेपछि उनीहरूसँग सात दिनभित्र स्पष्टीकरण माग गरिएको थियो। प्राप्त स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय र निर्देशनसँग मेल नखाएको तथा जवाफ चित्तबुझ्दो नभएको जसपा नेपालको भनाइ छ।
पार्टीले अनुशासन उल्लङ्घन गरेको विषयमा किन कारबाही नगर्ने, पार्टी निर्णयविपरीत काम गर्न मिल्ने वा नमिल्ने तथा उक्त कार्यलाई पार्टी विधानअनुसार कसरी लिनुपर्ने हो भन्नेबारे स्पष्ट धारणा राख्न २४ घण्टाभित्र पुनः स्पष्टीकरण दिन भनेको छ।
तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा जवाफ सन्तोषजनक नभएमा पार्टी विधानअनुसार आवश्यक अनुशासनात्मक कारबाही अघि बढाइने चेतावनीसमेत जसपा नेपालले दिएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij