Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

सभापति पदमा उम्मेदवारी

शशांकलाई संयोजकमा सघाएका विमलेन्द्र निधिले अब मागे सभापतिमा साथ

शशांकलाई संयोजकमा सघाएका विमलेन्द्र निधिले अब मागे सभापतिमा साथ

images

  • 148
    Shares

    शशांकलाई संयोजकमा सघाएका विमलेन्द्र निधिले अब मागे सभापतिमा साथ
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

    मंसिर २१ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गर्दै निधिले आफ्नो उम्मेदवारीका लागि आन्तरिक छलफल र तयारी अघि बढाएका हुन्।

    सभापतिमा उम्मेदवारी दिने विषयमा निधिले महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालालाई समेत जानकारी गराइसकेका छन्। हिजो चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बस्नुअघि निधिले कोइरालासँग भेट गरेका थिए।

    भेटका क्रममा निधिले आफूलाई सभापति पदमा सहयोग गर्न कोइरालासँग आग्रह गरेको उनीनिकट एक नेताले बताएका छन्। ती नेताका अनुसार निधिले आफूले कोइरालालाई तयारी समितिको संयोजक बन्न समर्थन गरेको उल्लेख गर्दै अब सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए।

    सहमति जुट्न नसके प्रतिस्पर्धामा उत्रिने तयारी निधिको रहेको उनीनिकट नेताको दाबी छ। यद्यपि, निधिको आग्रहमा कोइरालाले कुनै ठोस जवाफ नदिएको बताइएको छ।

    निधि यसअघि १४औँ महाधिवेशनमा पनि सभापति पदका उम्मेदवार बनेका थिए। तर, पछि उनले शेरबहादुर देउवालाई समर्थन गरेका थिए।

    देउवा समूहको १५औँ महाधिवेशनमा सभापति पदका लागि शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत र एनपी साउदको नाम चर्चामा छ।

    देउवानिकट नेताहरूका अनुसार महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ। देउवाले शशांक कोइरालालाई तयारी समितिको संयोजक बनाएकाले उनलाई नै सभापति बनाउन चाहेको कतिपय नेताहरूको दाबी छ।

    यता, देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्का पार्टी विभाजनको पक्षमा नरहेको भन्दै निष्क्रिय बनेका छन्। १४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले भने देउवा समूहको महाधिवेशनपछि पार्टी एकता अभियान सञ्चालन गर्ने तयारी गरेका छन्।

    गगन थापासँग पार्टीको आधिकारिकतासम्बन्धी विवाद जारी रहेका बेला देउवा समूहले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको हो।

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १४:५२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij