Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

रेल सेवा

जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालन

जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालन

images

  • 239
    Shares

    जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालन
    images

    काठमाडौं । जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ ।

    नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको एक साताभित्रै रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

    नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार बिहीबारदेखि जनकपुरधाम रेल्वे स्टेसनबाट टिकट बिक्री सुरु गरिनेछ । भारततर्फ भने टिकट बुकिङ खुला भइसकेको छ । अनलाइनमार्फत टिकट लिन चाहने यात्रुले भारतीय रेल्वेको प्रणाली प्रयोग गर्न सक्नेछन् भने नेपालबाट टिकट लिन चाहनेले जनकपुरधाम स्टेसन पुग्नुपर्नेछ ।

    निर्धारित तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्किनेछ । साप्ताहिक रूपमा सञ्चालन हुने यस रेल सेवाले दुवै देशका तीर्थयात्रीलाई धार्मिक यात्रामा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    भारतीय रेल्वेले यात्रुको सुविधाअनुसार चार श्रेणीमा भाडादर निर्धारण गरेको छ । शयनयान श्रेणीको भाडा ३६५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय इकोनोमीको ८८५ रुपैयाँ, वातानुकूलित तृतीय श्रेणीको ९६५ रुपैयाँ र वातानुकूलित द्वितीय श्रेणीको १ हजार ३६० भारतीय रुपैयाँ तोकिएको छ ।

    रेल यात्राका लागि नेपाली नागरिकले नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमध्ये कुनै एक परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ ।

    कुल १७ वटा डिब्बा रहने रेलमा वातानुकूलित द्वितीय श्रेणीका दुई, वातानुकूलित तृतीय श्रेणीका तीन, तृतीय इकोनोमीका तीन, शयनयानका सात र एसएलआरका दुई डिब्बा रहनेछन् ।

    जनकपुरधाम र अयोध्याबीच सीधा रेल सेवा सञ्चालन हुनुले यातायातमा नयाँ विकल्प थपिनुका साथै धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

    स्थानीयवासी देव नारायण ठाकुरले भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामबीच सदियौँदेखि धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै रेल सेवाले तीर्थयात्रीको आवागमन थप सहज बनाउने बताए ।

    उनका अनुसार विवाह पञ्चमी, रामनवमी लगायतका धार्मिक अवसरमा दुवै क्षेत्रका श्रद्धालुको आवागमन हुने गरेको छ । रेल सेवा सञ्चालनले भारतीय पर्यटकलाई जनकपुरधाम आकर्षित गर्न तथा जानकी मन्दिर, राममन्दिर, विवाहमण्डप र मिथिला संस्कृतिको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    सरयू–कमला एक्सप्रेस सञ्चालनसँगै नेपाल र भारतबीचको ऐतिहासिक धार्मिक सम्बन्धलाई रेलमार्गले थप नजिक ल्याउने विश्वास गरिएको छ ।

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १४:१०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij