२०८३ मंसिर १० गते बिहिवार
काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकन गर्ने भएको छ। यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न आयोगले सबै स्थानीय तहलाई पत्राचार गरेको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार देशभरका स्थानीय तहलाई परिपत्र जारी गर्दै मतदान स्थल पुनरावलोकन कार्यमा आवश्यक समन्वय र सहकार्य गर्न अनुरोध गरेको हो।
निर्वाचन आयोगअन्तर्गतको ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समिति’ को बैठकले मतदान स्थल पुनरावलोकन गर्ने निर्णय गरेको थियो। निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा रहेको उक्त समितिमा सम्बन्धित मन्त्रालयका सचिव सदस्य रहेका छन्।
‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१’ तथा ‘कार्यक्रम कार्यान्वयन योजना, २०८३’ अनुसार सबै जिल्लाका मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई पुनरावलोकनको कार्य अघि बढाउन निर्देशन दिइएको छ।
यसअघि आयोगले मंसिर ७ गते गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै आवश्यक सहजीकरणका लागि अनुरोध गरेको थियो। सोहीअनुसार गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय र सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा समन्वय अघि बढाइएको हो।
आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका उपसचिव युवराज गुरागाईंले हस्ताक्षर गरेको पत्रका आधारमा मन्त्रालयले स्थानीय तहहरूलाई परिपत्र गरेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij