२०८३ मंसिर ६ गते आइतवार
काठमाडौं । नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन् । शनिबार ललितपुर सम्पन्न संघको ५२औँ साधारण सभाबाट उनी आगामी तीन वर्षका लागि अध्यक्षमा चुनिएका हुन् ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा जबराले गोपालकाजी कायस्थलाई १६ मतको अन्तरले पराजित गरे । कुल ९० मतमध्ये जबराले ५३ मत प्राप्त गर्दा कायस्थले ३७ मत मात्रै पाए । जबरा नयाँ बानेश्वरस्थित वान् सिनेमाजका सञ्चालक हुन् ।
नयाँ कार्यसमितिको सदस्यमा खुलातर्फ आशिष तामाङ, दुर्गालाल प्रधान, मिजास पोखरेल र योगेन्द्र मल्ल ठकुरी निर्विरोध भए । त्यस्तै, वितरक सदस्यमा करण श्रेष्ठ र गोविन्दबहादुर शाही पनि निर्विरोध निर्वाचित भए ।
प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी र मधेशबाट चैतन्य बराल तथा बागमतीबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ निर्विरोध चयन भएका छन् । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्यमा कर्णालीका डाक्टर सिंह गुरुङ चयन भएका छन् ।
संघको विधानअनुसार निर्वाचित सदस्यहरूबीच सहमति जुटाएर प्रथम उपाध्यक्षदेखि महासचिवसम्मका पदाधिकारी चयन गरिनेछ ।
वि.सं.२०१३ सालमा स्थापना भएको नेपाल चलचित्र संघ हल सञ्चालक तथा फिल्म वितरकहरूको साझा संस्था हो । नेपाल मोसन पिक्चर्स एसोसिएसन (नेम्पा) नामले समेत परिचित यस संस्थाको पहिलो अध्यक्ष भुवनेश्वर अमात्य थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij