Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

अत्यधिक धूम्रपानले गायक अनिल सिंहको खुट्टामा गम्भीर समस्या

अत्यधिक धूम्रपानले गायक अनिल सिंहको खुट्टामा गम्भीर समस्या


  • 253
    Shares

    • images
    अत्यधिक धूम्रपानले गायक अनिल सिंहको खुट्टामा गम्भीर समस्या

    काठमाडौं । गायक अनिल सिंहले अत्यधिक धूम्रपानका कारण आफ्नो खुट्टामा गम्भीर स्वास्थ्य समस्या देखिएको खुलासा गरेका छन् । चिकित्सकले खुट्टा नै काट्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएपछि आफू उपचारका लागि अस्ट्रेलिया पुगेको उनले बताएका छन् ।

    अस्ट्रेलिया भ्रमणका क्रममा सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनले धूम्रपानकै कारण खुट्टामा समस्या देखिएको बताएका हुन् । 

    आफू लामो समयदेखि अत्यधिक चुरोट सेवन गर्ने गरेको र त्यसले स्वास्थ्यमा गम्भीर असर पारेको उनको भनाइ छ । उनका अनुसार, खुट्टामा समस्या देखिएपछि चिकित्सकसँग जाँच गराउँदा धूम्रपानका कारण स्वास्थ्यमा गम्भीर असर परेको पत्ता लागेको थियो । 

    चिकित्सकले चाँडोभन्दा चाँडो धूम्रपान छाड्न र उपचार गर्न सुझाव दिएका थिए । चिकित्सकले खुट्टा काट्नुपर्ने अवस्था आउन सक्ने बताएपछि आफू निकै डराएको उनले सुनाएका छन् । “डाक्टरले तपाईंको खुट्टा काट्नुपर्ने हुन सक्छ भन्नुभयो । त्यसपछि म नेपालबाट अस्ट्रेलिया आएँ” उनले भनेका छन् ।

    उनले पहिलो दिनमा दुईदेखि तीन प्याकेटसम्म चुरोट सेवन गर्ने गरेको पनि खुलाएका छन् । चिकित्सकको सुझावपछि चुरोटको मात्रा घटाएर दिनमा एक–दुईवटामा सीमित गरेको भए पनि त्यसले पनि स्वास्थ्यमा असर गरिरहेको उनको भनाइ छ ।

    नेपालमा बसेर धूम्रपान छाड्न कठिन भइरहेको अवस्थामा अस्ट्रेलिया भ्रमणको अवसरलाई उपचार र धूम्रपान त्याग्ने मौकाका रूपमा लिएको उनले बताएका छन् । अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग आफ्नो स्वास्थ्य अवस्थाबारे खुलेर कुरा गर्दा मानसिक रूपमा समेत केही राहत महसुस भएको उनको भनाइ छ ।

    उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै धूम्रपान गर्नेहरूलाई समयमै सचेत हुन र चुरोट सेवन त्याग्न आग्रह गरेका छन् । “मेरो व्यक्तिगत जीवनको यो संघर्ष अरूका लागि पनि धूम्रपान छाड्ने प्रेरणा बनोस् भन्ने चाहन्छु,” भनेका छन् ।

    गायक सिंहले अस्ट्रेलियामा रहेका कलाकार प्रकाश सपूत र रचना रिमालले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्दै हेरचाह गरेकोमा धन्यवादसमेत दिएका छन् । विशेषगरी प्रकाश सपूतले आफ्नो स्वास्थ्यप्रति निकै ध्यान दिएको उनले बताएका छन् ।

    हाल अस्ट्रेलिया भ्रमणमा रहेका सिंहले सिड्नी र तास्मानियामा सांगीतिक प्रस्तुति दिइसकेका छन् । उनले आगामी प्रस्तुति एडिलेडमा रहेको जानकारी दिँदै त्यहाँ पुग्दा पूर्ण रूपमा धूम्रपान त्याग्ने प्रयास गर्ने बताएका छन् । “जति समय शरीरमा सास रहन्छ, दर्शकलाई गीतमार्फत मनोरञ्जन दिइरहनेछु,” उनले आफ्नो सन्देशमा भनेका छन् ।

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - १७:०३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij