Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

कान नसुन्ने देवीसँग चिच्याएर वर माग्ने अनौठो परम्परा

कान नसुन्ने देवीसँग चिच्याएर वर माग्ने अनौठो परम्परा


  • 183
    Shares

    • images
    कान नसुन्ने देवीसँग चिच्याएर वर माग्ने अनौठो परम्परा

    काठमाडौं । पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ । गाउँपालिका–४ स्थित सत्यवतीताल क्षेत्रमा लाग्ने यस मेलामा मनोकामना पूरा हुने जनविश्वासका साथ नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट भक्तजन आउने गरेका छन् ।

    सत्यवतीबज्यै कानले नसुन्ने भएकाले भक्तजनले तालनजिकै पुगेर चिच्याउँदै आफूले चिताएको वर माग्ने परम्परा रहिआएको छ । चिच्याएर वर मागेमा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा यहाँ हजारौँ भक्तजनको जमघट हुने गर्दछ ।

    मेला भर्न आउने भक्तजन रातभर जाग्राम बसेर पूजा गर्ने र बिहान देवीसँग चिच्याएर वर माग्ने गर्दछन् । यस वर्ष मङ्सिर ४ देखि ८ गतेसम्म मेला सञ्चालनहुने सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताए ।

    उनका अनुसार मेलाकालागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । मङ्सिर ७ गते राति पूर्णिमा परेकाले ७ र ८ गतेलाई यस वर्ष पूजाआजाका विशेष दिनका रूपमा लिइएको छ ।

    सत्यवतीबज्यैको दर्शन तथा पूजाका लागि विशेष साइत जुरेकाले विगतका वर्षभन्दा यसपटक भक्तजनको सहभागिता बढ्ने अपेक्षा गरिएको उनले बताए ।

    मेलालाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । धार्मिक तथा सांस्कृतिकमर्यादा कायम राख्न मेला क्षेत्रमा मदिराजन्य पदार्थको बिक्रीतथा सेवनलाई निषेध गरिएको समितिले जनाएको छ । सत्यवती मेलाको अर्को विशेषता रातको समयमा लिङ्गो गाडेर वर माग्ने परम्परा हो ।

    भक्तजनले बाँस, निङ्गालो, साललगायतका काठबाट बनेका लिङ्गो ताल क्षेत्रमा गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो पहिचान गरी पूजा गरेपछि घर फर्कने चलन छ ।

    मन्दिरमा बोका तथा पाठीको बलि चढाउने र परेवा उडाउने परम्परासमेत रहिआएको छ । परापूर्वकालमा सत्यवतीबज्यै घना जङ्गलको बीचमा आई तपस्या गरेपछि शक्तिप्राप्त गरेको किंवदन्तीप्रचलित छ । कानले नसुन्ने देवी भएकाले भक्तजनले आफ्नो मनोकामना चिच्याएर सुनाउने गरेको धार्मिक मान्यता छ ।

    विगतमा कात्तिक शुक्ल चतुर्दशीका दिन मन्दिरमा बास बसेर रातभर पूजापाठ गर्ने र बिहान झिसमिसेमै वर मागेर फर्कने चलनथियो । पछिल्लो समय भने कात्तिक शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म नै रातदिन पूजापाठ तथा वर माग्ने परम्परा विकसित भएको छ ।

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १६:१८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij