२०८३ मंसिर २ गते बुधवार
१. हिमाली मुद्दा औपचारिक एजेन्डाबाहिर, जलवायु वित्तमा फेरि अर्को मार्गचित्र
टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले उठाएको हिमाली मुद्दाले अपेक्षित अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको विशिष्ट प्रभावलाई सम्मेलनको औपचारिक कार्यसूचीमा छुट्टै विषयका रूपमा समावेश गराउने नेपालको प्रयास असफल भएको छ । सम्मेलनको अध्यक्षीय मस्यौदामा पर्वतीय क्षेत्रबारे केही प्रश्ताव समेटिए पनि त्यसलाई नेपालको मागअनुसारको औपचारिक एजेण्डा स्थापित भएको मान्न मिल्दैन । जलवायु परिवर्तनको उच्च जोखिममा रहेका हिमाली देशको आवाजलाई अन्तर्राष्ट्रिय वार्ताको केन्द्रमा पु¥याउने नेपालको प्रयास यसपटक पनि प्रक्रियागत छलफल र अध्यक्षीय प्रस्तावमा सीमित हुने संकेत देखिएको छ । सम्मेलनको कार्यसूची स्वीकृत भइसकेको र बैठकहरू अन्तिम चरणतिर अघि बढिरहेको अवस्थामा छुट्टै औपचारिक एजेण्डा स्थापित गर्ने सम्भावना लगभग समाप्त भएको छ । बाँकी छलफलबाट केही विषय अध्यक्षीय निर्णय वा आगामी सम्मेलनका प्रक्रियामा समेटिन सक्छन् तर त्यसले यसपटकको कुटनीतिक प्रयासको मूल माग पूरा भएको अर्थ दिँदैन ।
२. प्रदेश र स्थानीय तहबीच राजश्व परिचालनमा सहकार्य बढाउन मुख्यमन्त्रीको जोड
वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश र स्थानीय तहबीच राजश्व परिचालन तथा सूचना आदानप्रदानमा सहकार्य र समन्वय बढाउनुपर्ने बताउनुभएको छ । संघीयतालाई प्रभावकारी बनाउन प्रदेशको वित्तीय क्षमता विस्तारसँगै स्रोत परिचालन र खर्च गर्ने दक्षता अभिवृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजश्व कार्यालय मकवानपुरले मंगलबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले संघीयता सफल बनाउन राजनीतिक अधिकारको बाँडफाँड मात्र पर्याप्त नहुने बताउनु भयो । वित्तीय अधिकार, स्रोत परिचालनको क्षमता र सार्वजनिक खर्चको प्रभावकारिता पनि उत्तिकै महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।
३. जेन–जी परिवर्तनपछि नेपाल–भारत सम्बन्धमा नयाँ अवसर–पूर्वकूटनीतिज्ञहरू
नेपालको राजनीतिक परिवर्तनपछि नेपाल–भारत सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउने अवसर देखिए पनि त्यसलाई व्यवहारमा उतार्न पुराना समस्या समाधान र आर्थिक सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नुपर्नेमा विज्ञ तथा पूर्वकूटनीतिज्ञहरूले जोड दिएका छन् । प्रधानमन्त्री बालेन्द्र साहको आगामी भारत भ्रमणको पूर्वसन्ध्यामा मंगलवार काठमाडौंमा आयोजित छलफलमा सहभागी वक्ताहरूले राजनीतिक नेतृत्वमा आएको परिवर्तनलाई दुई देशबीच विश्वासको नयाँ आधार निर्माण गर्ने अवसरका रूपमा व्याख्या गर्दै ऊर्जा व्यापार, लगानी, पारवहन, व्यापार अवरोध र क्षेत्रीय सुरक्षाका विषयमा ठोस निर्णय हुनुपर्ने बताएका हुन् । सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसी (सीईएसआईएफ) ले आयोजना गरेको ‘समसामयिक नेपाल–भारत सम्बन्ध’ विषयक छलफलमा वक्ताहरूले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक र कुटनीतिक निकटतामा मात्र सीमित नराखी आर्थिक अन्तरनिर्भरता, उत्पादन साझेदारी र साझा विकासको दिशामा लैजानुपर्ने धारणा राखेका थिए ।
४. जापानमा ६ महिनादेखि उपचाररत विष्णुको केएमसीमा निःशुल्क उपचार शुरु
जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किनुभएको छ । सोमवार नेपाल आइपुग्नुभएकी उहाँको काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचार शुरु गरिएको हो । आर्थिक अभावका कारण जापानमा उपचारलाई निरन्तरता दिन कठिन भएपछि नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोईराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा उहाँलाई नेपाल ल्याइएको हो । डा. शर्माले नै उनको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाएका छन् ।
५. एमाले स्थायी कमिटीको दोस्रो बैठक शुरु
नेकपा एमालेको स्थायी कमिटीको दोस्रो बैठक शुरु भएको छ । मंगलवार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक शुरु भएको हो । एमालेले आगामी मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिसकेको छ । उक्त भेलाको तयारी तथा छलफलका विषय र एजेण्डा तय गर्न स्थायी कमिटीको बैठक बसेको हो । बैठकमा राष्ट्रिय भेलालाई व्यवस्थित बनाउने, भेलामा प्रश्तुत गरिने विषयवस्तु र पार्टीका यसअघिका निर्णय कार्यान्वयनलगायत विषयमा छलफल हुने बताइएको छ ।
६. आर्थिक सहकार्य विस्तार गर्न आइभरी कोस्ट र बोत्स्वानाबीच सहमति
आइभरी कोस्ट र बोत्स्वानाले खानी, ऊर्जा, कृषि तथा व्यापार क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने सहमति गरेका छन् । आइभरी कोस्टका राष्ट्रपति अलासाने ओउटारा र बोत्स्वानाका राष्ट्रपति डुमा गिडियन बोकोबीच सोमवार आइभरी कोस्टको राजधानी आबिदजानमा भएको वार्तापछि यस्तो सहमति भएको हो । वार्तालाई फलदायी र मैत्रीपूर्ण भन्दै राष्ट्रपति ओउटाराले दुई देशबीच हाल भइरहेको व्यापारको स्तर उनीहरूको वास्तविक आर्थिक सम्भावनाअनुसार नरहेको बताए । उनले बोत्स्वानाको निजी क्षेत्रलाई आइभरी कोस्टमा लगानी बढाउन आग्रह गर्दै विशेषगरी खानी, पेट्रोलियम तथा ठूला विकास आयोजनामा लगानीका लागि आह्वान गरे । राष्ट्रपति ओउटाराले सन् २०२६ को जुलाईमा बोत्स्वानाको राजधानी गाबोरोनमा हस्ताक्षर भएको खानी, पेट्रोलियम तथा ऊर्जा क्षेत्रसम्बन्धी सहकार्य सम्झौताले दुई देशबीचको आर्थिक सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
७. इरानसँग तनाव बढिरहेका बेला मध्यपूर्वमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत तैनाथ
इरानसँग जारी तनावका बीच अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप बढाएको छ । अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थिओडोर रुजवेल्ट मध्यपूर्व पुगेपछि उक्त क्षेत्रमा अमेरिकाका विमानवाहक युद्धपोतको सङ्ख्या तीन पुगेको छ । अमेरिकी अधिकारीले सोमबार तेस्रो विमानवाहक युद्धपोत मध्यपूर्व पुगेको पुष्टि गरेका हुन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार रुजवेल्ट आईतवार अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) अन्तर्गतको जिम्मेवारी क्षेत्रमा पुगेको हो । यसअघि उक्त क्षेत्रमा यूएसएस जर्ज एचडब्ल्यू बुस र यूएसएस जर्ज वासिङ्टन तैनाथ थिए। ती युद्धपोत क्रमशः अप्रिल र अगस्टदेखि उक्त क्षेत्रमा परिचालित छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अरब सागर क्षेत्रमा अहिले अमेरिकी नौसेनाका तीन विमानवाहक युद्धपोत, १३ वटा विध्वंसक युद्धपोत, दुईवटा क्रुजर र एउटा लिटोरल कम्ब्याट जहाज तैनाथ छन् ।
८. एपेक बैठकमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री कार्नी चीनमा
क्यानडाका प्रधानमन्त्री मार्क कार्नी एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३ औँ आर्थिक नेताहरूको बैठकमा सहभागी हुन सोमवार चीनको सेन्जेन पुगेका छन् । दक्षिण चीनको ग्वाङ्दोङ प्रान्तमा रहेको सेन्जेनमा आयोजना हुने उक्त बैठक नोभेम्बर १८ र १९ तारिखमा सञ्चालन हुनेछ । बैठकमा एशिया प्रशान्त क्षेत्रका आर्थिक तथा व्यापारिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
९.एपेक बैठकमा सहभागी हुन पपुवा न्यु गिनीका प्रधानमन्त्री चीनमा
पपुवा न्यु गिनीका प्रधानमन्त्री जेम्स मारापे एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३ औँ आर्थिक नेताहरूको बैठकमा सहभागी हुन सोमवार चीनको सेन्जेन पुगेका छन् । दक्षिण चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा आयोजना हुने उक्त बैठक नोभेम्बर १८ र १९ तारिखमा सञ्चालन हुनेछ । बैठकमा एशिया प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुने कार्यक्रम रहेको छ ।
१०. एपेक बैठकमा सहभागी हुन भियतनामका राष्ट्रपति तो लाम चीनमा
भियतनामका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीको केन्द्रिय समितिका महासचिव तो लाम एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३ औँ आर्थिक नेताहरूको बैठकमा सहभागी हुन मंगलबार चीनको सेन्जेन पुगेका छन् । दक्षिण चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा आयोजना हुने उक्त बैठक नोभेम्बर १८ र १९ तारिखमा सञ्चालन हुनेछ । एपेक बैठकमा एसिया प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुँदै क्षेत्रीय आर्थिक सहकार्य तथा व्यापार विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
११. एपेक बैठकमा सहभागी हुन मेक्सिकोकी राष्ट्रपति चीनमा
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाम पार्दो एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३ औँ आर्थिक नेताहरूको बैठकमा सहभागी हुन सोमवार चीनको सेन्जेन पुगेकी छन् । दक्षिण चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा आयोजना हुने उक्त बैठक नोभेम्बर १८ र १९ तारिखमा सञ्चालन हुनेछ । बैठकमा एशिया प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका नेताहरू सहभागी भई क्षेत्रीय आर्थिक तथा व्यापारिक सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
१२. चीनसँग व्यापारिक सम्बन्ध थप विस्तार गर्न अस्ट्रेलियाको जोड
अस्ट्रेलियाका व्यापार तथा पर्यटनमन्त्री डन फरेलले चीनसँगको द्विपक्षीय व्यापार र आर्थिक सम्बन्ध थप विस्तार गर्न सकिने बताएका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वासँग हालैको अन्तर्वार्तामा मन्त्री फरेलले चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको उल्लेख गर्दै दुई देशबीच रचनात्मक र स्थिर सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिएका हुन् । उनले विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितताबीच अस्ट्रेलियाले एशिया प्रशान्त क्षेत्रका साझेदार मुलुकहरूसँग सहकार्य बढाइरहेको बताए । अस्ट्रेलियाले व्यापारिक सम्बन्धलाई थप विस्तार गर्दै उच्चस्तरको व्यापार कायम राख्ने प्रयास गरिरहेको उनको भनाइ छ । फरेलले चीनसँगको व्यापारलाई अझ प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै दुईतर्फी व्यापार विस्तारका लागि थप सम्भावनाहरू रहेको बताए।
१३. थाइल्याण्डको फुकेटमा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु, ३० भन्दा बढी घाइते
थाइल्यान्डको दक्षिणी प्रान्त फुकेटमा चारतले भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । थाई सञ्चारमाध्यमकाअनुसार सोमवार बिहान सबेरै भवनमा आगलागी भएको थियो । आगलागीका कारण भवनमा ठूलो क्षति पुगेको छ । घटनामा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारणबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन ।
१४. यमनमा हुथी विद्रोहीद्वारा ६०० बन्दी रिहा, मिसाइल आक्रमणमा १७ जना हताहत
यमनको हुथी विद्रोही समूहले द्वन्द्वसँग सम्बन्धित ६०० जना बन्दीलाई एकपक्षीय रूपमा रिहा गरेको छ । यसैबीच, दक्षिणी प्रान्त लहजमा युद्धबाट भागिरहेका परिवार सवार सवारीसाधनलाई लक्षित गरी मिसाइल आक्रमण हुँदा कम्तीमा १७ जना हताहत भएका छन् । हुथी समूहले आइतबार राजधानी सानामा अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को सहयोगमा बन्दी रिहा गरेको घोषणा गरेको हो । अर्कोतर्फ, सरकारी सैन्य स्रोतका अनुसार हुथी विद्रोहीले प्रहार गरेको मिसाइल परिवारसहितका सवारीसाधनमा खसेको थियो । आक्रमणमा मृत्यु हुने र घाइते हुनेको यकिन संख्या भने खुल्न सकेको छैन । सरकारी सैन्य स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार एडेनबाट करिव ९० किलोमिटर पश्चिममा पर्ने खोर उमाइराहको तटीय क्षेत्रमा उक्त आक्रमण भएको थियो । तर हुथी समूहका एक सैन्य स्रोतले भने आफ्नो समूहले विस्थापित परिवारलाई नभई साउदी अरेबियाको समर्थन प्राप्त सरकारी सेनाको जमघटलाई लक्षित गरेको दाबी गरेको छ ।
१५. व्यापार र वित्तीय सूचना आदानप्रदानमा सहकार्य गर्न कम्बोडिया र क्यानडाबीच सम्झौता
कम्बोडिया र क्यानडाबीच व्यापार, अर्थतन्त्र तथा वित्तीय सूचना आदानप्रदानमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा दुईवटा सम्झौता भएका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले सोमवार दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएका हुन् । कम्बोडियाको राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा प्रधानमन्त्री मानेट र क्यानडाका भ्रमणरत प्रधानमन्त्री मार्क कार्नीबीच भएको औपचारिक वार्तापछि सम्झौतामा हस्ताक्षर गरिएको हो । प्रधानमन्त्री मानेटले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार दुई देशबीच व्यापार तथा आर्थिक सहकार्यसम्बन्धी समझदारीपत्र र वित्तीय गुप्तचर सूचनाको आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
१६. स्पेनको क्यानरी टापुमा ३२ वर्षयताकै एकै दिन सबैभन्दा धेरै आप्रवासीको आगमन
स्पेनको क्यानरी टापुमा एट्लान्टिक समुन्द्री मार्ग हुँदै एकै दिनमा १ हजार ५८० भन्दा बढी आप्रवासी आइपुगेका छन् । यो पछिल्लो ३२ वर्षयताकै उक्त समुन्द्री मार्गबाट एकै दिनमा सबैभन्दा धेरै आप्रवासी उद्धार गरिएको घटना भएको स्पेनको समाचार एजेन्सी ईएफईले जनाएको छ । शनिवार मात्रै १ हजार ५८० जना आप्रवासी टापुमा आइपुगेका हुन् । यसअघि सन् २०२० नोभेम्बर ७ मा एकै दिन १ हजार ४६१ जनाको उद्धार गरिएको थियो । शुक्रवार र शनिवार गरी दुई दिनमा २ हजार ४०० भन्दा बढी आप्रवासी क्यानरी टापु पुगेको समाचारमा उल्लेख छ । आप्रवासीमध्ये अधिकांश एल हिएरो टापुमा पुगेका थिए । त्यहाँ मात्रै १ हजार ३२७ जना ओर्लिएका थिए । उनीहरूमध्ये सबैभन्दा ठूलो समूहमा २४० जना एउटै डुङ्गामा सवार थिए ।
१७. एमालेले एक दिन अगाडी सा¥यो केन्द्रिय कमिटीको बैठक
नेकपा एमालेले केन्द्रिय कमिटीको बैठकलाई एक अगाडी सारेको छ । एमालेको मंगलवार बसेको स्थायी कमिटिको बैठकले केन्द्रिय कमिटीको बैठकलाई एक दिन अगाडी सार्ने निर्णय गरेको हो । मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रिय कमिटीको बैठकलाई एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । बैठकले मंसिर २ र ३ गतेका लागि तोकिएको राष्ट्रिय भेलामा प्रश्तुत गर्ने एजेण्डा समेत पारित गरेको छ । एमालेको राष्ट्रिय भेलामा स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा बनाएको उपमहासचिव भट्टले बताउनु भयो । राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालनलाई मुख्य एजेण्डाका रूपमा अगाडी बढाउने उहाँले बताउनु भयो ।
१८. मानव बेचबिखन विधेयकमा सांसहरुहरुको सुझावः विधेयक पीडितमैत्री हुनुपर्छ, अपाच्य शब्दहरु परिमार्जन गरौँ’
मानव बेचबिखन विधेयकलाई थप परिमार्जन गरी पीडितमैत्री बनाउन आवश्यक रहेको सांसदहरुले बताएका छन् । महिला तथा सामाजिक मामिला समितिमा भएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा उनीहरुले विधेयकलाई अझ परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् । वैदेशिक रोजगारीको आवरणमा हुने मानव बेचबिखन, डिजिटल शोषण, बालश्रम र अन्तरदेशीय संगठित अपराध नियन्त्रणका लागि कानूनी व्यवस्था स्पष्ट र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । नेकपा एमालेकी सांसद यसुदाकुमारी बरालले विधेयकमा अपाच्य शब्दहरु राखिएकोमा आपत्ति जनाउनु भयो । उहाँले विधेयकमा प्रयोग गरिएको ‘वेश्यागमन’ शब्दमा पुनर्विचार गर्न सुझाव दिनुभयो ।
१९. स्वरूप परिवर्तन गरेर चलाईएको ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा
ट्राफिक प्रहरीले ट्राफिक नियम विपरित स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारीलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण नियन्त्रण गर्न मोडिफाई गरेर चलाएका दुईपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । ट्राफिक प्रहरीले ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, ४ वटा स्कुटर, २÷२ वटा डुकाटी र एमटी, १÷१ वटा डोमिनार र केटिएम डुक र ८ वटा अन्य सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ । एक साताको अवधिमा उक्त संख्यामा मोटरसाईकल, स्कुटर लयायतका दुईपाङ्ग्रे सवारी साधान नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
२०. ‘नास–आईटी एक्स्पो–२०२६’ मंसिर ५ र ६ गते ललितपुरमा आयोजना हुने
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी)ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो–२०२६’ आयोजना गर्ने भएको छ । नास–आईटीले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अगामी ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित अगामी मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा एक्स्पो आयोजना गरिने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको बताउनु भयो ।
२१. हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरुले निष्पक्ष छानविन गर्नुको सट्टा आरोपित गर्ने काम गरेः ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गर्नुभएको छ । आईतवार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उहाँले उपद्रवकारीहरुले राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनको क्रममा भएका घटनाहरुको निष्पक्ष छानविन हुन नसकेको समेत टिप्पणी गर्नुभयो । उहाँले सरकारद्वारा गठित छानविन आयोग र मानव अधिकार आयोगले आन्दोलनको क्रममा भएको लुटपाट र आगजनीका घटनाको निष्पक्ष छानविन गर्नुको सट्टा आफूहरुलाई आरोपित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप समेत लगाउनु भयो ।
२२. पार्टीपंक्तिलाई ओलीको निर्देशन–‘आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिनुभएको छ । आईतवार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने पार्टीसामु मुख्य कार्यभार रहेको भन्दै त्यसको लागि तयारी अवस्थामा बस्नुपर्नेमा उहाँको जोड छ । उहाँले आन्दोलन सधैं लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल शुरु गर्नुपर्ने अवस्था आउनसक्ने समेत बताउनु भयो ।
२३. १९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत
सरकारले राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न १९ विधामा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी, संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेको सम्झनामा २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । आन्तरीक राजस्व विभागले कर दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्दै आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट करदाता रहेका करदातालाई सम्मान गरेको हो । यसअघि १६ विधामा उत्कृष्ट करदातालाई सम्मान गरिँदै आएकोमा यस वर्ष विधाको संख्या बढाएर १९ पु¥याइएको छ । सरकारले विभिन्न क्षेत्र तथा व्यवसायमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ । सम्मानित हुनेमा ठूला व्यावसायिक घराना, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योग, पर्यटन व्यवसायी र व्यक्तिगत करदाता रहेका छन् । निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रा.लि. सम्मानित भएको छ ।
२४. आयकरको उच्चतम दर ३९ बाट २९ प्रतिशतमा झारिएको छः अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले यस वर्ष करका दरमा उल्लेख्य कटौती गरेको बताउनुभएको छ । राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौंमा मंगलवार बोल्दै अर्थमन्त्री वाग्लेले आयकरको उच्चतम स्ल्यावमा एकैपटक १० प्रतिशत बिन्दुले कटौती गरिएको जानकारी दिनुभयो । करको दर घटाउँदा राजस्वमा ठूलो असर पर्ने आशंका गरिए पनि सरकारले कर प्रणाली सुधार गर्ने उद्देश्यसहित यस्तो निर्णय लिएको उहाँको भनाइ छ । कर्मचारीको पारिश्रमीक वृद्धि हुँदा पनि करको भार कम हुनेगरी व्यवस्था गरिएको उहाँले बताउनु भयो । पाँच लाख रुपैयाँको सीमालाई बढाएर १० लाख रुपैयाँसम्मको आयमा कर नलाग्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
२५. करको दर बढाउनुभन्दा दायरा विस्तार र प्रशासनिक सुधारमा जोड दिनुपर्छः परिसंघ अध्यक्ष पाण्डे
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजश्व वृद्धि गर्न करको दरमा निरन्तर वृद्धि गर्नुभन्दा करको दायरा विस्तार, आर्थिक गतिविधिको औपचारिकीकरण र कर प्रशासनमा सुधार गर्नुपर्ने बताउनुभएको छ । करको भार पहिले नै वहन गरिरहेका करदातामाथि थप भार सिर्जना गर्नुभन्दा कर प्रणालीको दायराभन्दा बाहिर रहेका आर्थिक गतिविधि, सम्पती तथा पेशालाई करको दायरामा ल्याउनु बढी प्रभावकारी र न्यायोचित हुने उहाँले बताउनुभएको हो । राष्ट्रिय कर दिवसका अवसरमा अध्यक्ष पाण्डेले कर नीतिको स्थायित्वलाई लगानीकर्ताले उद्योग स्थापना, उत्पादन विस्तार तथा दीर्घकालीन लगानीको महत्वपूर्ण आधारका रूपमा लिने गरेको बताउनु भयो । करसम्बन्धी नीतिगत परिवर्तन गर्दा पर्याप्त अध्ययन, निजी क्षेत्रसँगको परामर्श र त्यसको दीर्घकालीन प्रभावलाई ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।
२६. करको भार घटाउन दरमा पुनरावलोकन र व्यवसाय गर्ने लागत कम गर्नुपर्छः अञ्जन श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै न्युन रहे पनि कर वृद्धिदर उच्च रहेको बताउँदै करको भार घटाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै श्रेष्ठले नेपालको कर तथा आर्थिक वृद्धिसम्बन्धी तथ्यांकले अर्थतन्त्रमा करको भार बढी रहेको बताउनुभएको हो । उहाँकाअनुसार नेपालको कर–कुल गार्हस्थ्य उत्पादन (ट्याक्स टु जीडीपी) अनुपात २१ प्रतिशत पुगेको छ । समग्र कर भुक्तानीको तुलनामा पनि नेपाली करदाताले क्षेत्रीय स्तरमा उच्च कर भार वहन गरिरहेको उहाँको भनाइ छ । नेपालको जीडीपी वृद्धिदर दक्षिण एशियामै न्युन र कर वृद्धिदर उच्च हुनु अर्थतन्त्रका लागि चुनौतीपूर्ण अवस्था भएको उहाँले बताउनु भयो ।
२७. चिया तथा कफी खेती विस्तार सरकारको प्राथमिकतामा छः सचिव मिश्र
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले चिया तथा कफी खेतीलाई सरकारले प्राथमिकतामा राखेर प्रवद्र्धन तथा विस्तारका कार्यक्रम अघि बढाएको बताउनुभएको छ ।
२२ औँ राष्ट्रिय कफी दिवसको अवसरमा मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले युवाहरूमा चिया तथा कफी खेतीमार्फत नेपालमै व्यावसायिक भविष्य बनाउन सकिन्छ भन्ने आत्मविश्वास विकास हुनु सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताउँदै सरकारले चिया तथा कफी खेतीलाई प्राथमिकतामा राखेर प्रवद्र्धन तथा विस्तारका कार्यक्रम अघि बढाएको बताउनु भयो । उहाँकाअनुसार सरकारले पछिल्ला वर्षमा चिया तथा कफी क्षेत्रको बजेटसमेत बढाउँदै लगेको छ । यसअघि चिया तथा कफी विकास बोर्डका लागि करिव १५ करोड रुपैयाँ विनियोजन हुँदै आएकोमा गत वर्ष एकैपटक १० करोड थप गरी २५ करोड रुपैयाँ पु¥याइएको उहाँले जानकारी दिनुभयो ।
२८. निजी क्षेत्रलाई राजश्व संकलनको स्रोत मात्र नभई आर्थिक विकासको सहयात्रीका रूपमा हेर्नुपर्छः कमलेश अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रलाई सरकारको राजस्व संकलनको स्रोतका रूपमा मात्र नभई आर्थिक विकासको सहयात्रीका रूपमा हेर्नुपर्ने बताउनुभएको छ ।
कर दिवसका अवसरमा राजधानीमा मंगलवार आयोजित कार्यक्रममा उहाँले निजी क्षेत्रलाई सहभागी नगराई राजस्व वृद्धिको लक्ष्य दीर्घकालीन रूपमा हासिल गर्न नसकिने बताउनुभएको हो । अग्रवालले मुलुकको अर्थतन्त्र विगत करिब ६ वर्षदेखि कोभिड–१९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कमजोर व्यवस्थापनका कारण शिथिलताको अवस्थाबाट गुज्रिरहेको बताउनु भयो । यस अवधिमा निजी क्षेत्रले विभिन्न चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा कर नीति लगानीमैत्री, उत्पादनमैत्री र रोजगारीमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
२९. भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति
नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रिय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिष्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो । प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म विद्युत् आयात गर्न पाउनेछ । अनुमतिअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ । विद्युत आयातका लागि कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रशारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट गरी कुल ३५० मेगावाटको अनुमति प्राप्त भएको छ ।
३०. सुशासन कायम गरेरै राजश्वको महत्वकांक्षी लक्ष्य पूरा गर्छौंः अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा सुशासन कायम गराएरै सरकारले यस वर्ष राखेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पूरा गराइछोड्ने बताउनुभएको छ । गत वर्षको तुलनामा करिव २७ प्रतिशतले बढी राजश्व उठाउने लक्ष्य महत्वाकाक्षी भए पनि सुशासन कायम गराएरै हालिल गरिने बताउनुभएको हो । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्ष १ हजार २५० अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभयो । करिव ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा १२ खर्ब रुपैयाँ हाराहारी मात्र राजश्व संकलन भइरहेको उल्लेख गर्दै उहाँले यस वर्ष राजस्व वृद्धिको लक्ष्य बढाइएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij