२०८३ मंसिर २ गते बुधवार
काठमाडौँ ।भोटेकोशी बाढीमा परेर बेपत्ता पत्रकार टेकराज थामीकी छोरीलाई पाकिस्तान सरकारले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले आज पत्रकार थामीकी धर्मपत्नी एवं राससका समाचारदाता कालिका खड्कालाई सो कुराको जानकारी दिएका हुन् । उनकी छोरी कृतिका हाल नौ कक्षामा अध्ययनरत छिन् ।
राजदूत खानले कृतिकालाई माध्यमिक विद्यालयसम्मको छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएका हुन् । राजदूत खानले कृतिकाको पठनपाठनमा सघाउ पुगोस् भनेर दूतावासका तर्फबाट सहयोगस्वरुप एक थान ल्यापटप पनि प्रदान गरेका थिए ।
त्यस अवसरमा राजदूत खानले भोटेकोशी बाढीले पुर्एको क्षतिप्रति दुःख व्यक्त गर्दै एक मित्र राष्ट्रका हैसियतले पाकिस्तान सरकारका तर्फबाट दूतावासले पत्रकार थामीको परिवारलाई सो सहयोग गरेको बताए ।
त्यस अवसरमा पत्रकार खड्काले छोरीको पठनपाठनका लागि सो सहयोग उपलब्ध गराएकामा पाकिस्तान सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij