२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित भएको छ । आर्थिक वर्ष २०८१\८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाएको भन्दै नेपाल सरकारले नबिल बैंकलाई सम्मान गरेको हो ।
राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरे । बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले सम्मानपत्र ग्रहण गरेका छन् ।
नबिल बैंकले आर्थिक वर्ष २०८१\८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८२\८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर सरकारलाई बुझाएको बैंकले जनाएको छ ।
सम्मान ग्रहणपछि चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए । उनले सम्मानले कर्मचारीको योगदान र ग्राहकले बैंकप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गरे ।
बैंकका अनुसार हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij