२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फण्ड–२ (CMF2) ले आफ्नो सात वर्षे निर्धारित अवधि सफलतापूर्वक पूरा गरी खारेजी प्रक्रिया सम्पन्न गरेको छ ।
रु. ५६ करोड कोष आकार रहेको उक्त योजना मिति २०७६ असार २२ गते देखि सञ्चालनमा आएकोमा २०८३ असार २१ गते सात वर्षे अवधि पूरा गरी परिपक्व भएको थियो । योजनाले आफ्नो सञ्चालन अवधिभर इकाईधनीहरूलाई वार्षिक नगद लाभांश वितरण गर्दै औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको छ । योजनाको खारेजी सम्बन्धी प्रक्रिया सम्पन्न भएसँगै इकाईधनीहरूलाई फिर्ता गर्नुपर्ने रकम वितरण गर्ने कार्य समेत प्रारम्भ भइसकेको छ ।
नेपाली धितोपत्र बजारमा विभिन्न समयमा देखिएका उतार–चढाव, बजार मूल्यमा आएको गिरावट तथा चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले निरन्तर प्रतिफल वितरण गर्न सफल हुनु क्यापिटलको व्यावसायिक लगानी व्यवस्थापन क्षमताको महत्वपूर्ण उपलब्धि हो । यस अघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ (CMF2) मार्फत समेत औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गर्न क्यापिटल सफल भएको थियो ।
सिटिजन्स क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष व्यवस्थापन मार्फत लगानीकर्ताहरूलाई राम्रो प्रतिफल प्रदान गर्दै व्यवस्थित तथा दीर्घकालीन लगानी संस्कृतिको विकासमा योगदान पु¥याउँदै आएको छ । हाल कम्पनीले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना तथा सिटिजन्स सन्तुलित योजना सहित विभिन्न योजनाहरू व्यवस्थापन गरिरहेको छ ।
यसको निरन्तरता स्वरूप कम्पनीले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स सुपर ५० नामक योजना सञ्चालनमा ल्याउँदैछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस योजनाको इकाई निष्काशन मिति २०८३ मंसिर २ गतेदेखि सुरु हुने तय गरिएको छ । १० वर्षे अवधि रहेको यस योजनाको प्रारम्भिक याजनाको आकार रु. १ अर्ब रहेको छ भने माग तथा आवेदनको अवस्था अनुसार अधिकतम रु. १ अर्ब २५ करोड सम्मको योजना आकार कायम गर्न सकिने व्यवस्था रहेको छ । यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।
सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो सामूहिक लगानी कोष व्यवस्थापन क्षमता तथा सेवाको गुणस्तरका लागि ईक्रा नेपाल लि.बाट AMC Quality 3+ रेटिङ्ग प्राप्त गरेको छ । विगतका सामूहिक लगानी योजनाहरूको व्यवस्थापनबाट हासिल गरेको अनुभव, संस्थागत क्षमता तथा व्यावसायिक दक्षतालाई उपयोग गर्दै सिटिजन्स सुपर ५० योजनाको लगानी व्यवस्थापनलाई समेत व्यवस्थित, अनुशासित तथा व्यावसायिक बनाउने कम्पनीको लक्ष्य रहेको छ । उक्त योजना मार्फत दीर्घकालीन लगानीको अवसर प्रदान गर्दै पूँजी बजारमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार हुने अपेक्षा कम्पनीले लिएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा श्री राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा श्री सविर बादे श्रेष्ठ रहनुभएको छ । कम्पनीले संस्थागत सुशासन, लगानीकर्ता हित संरक्षण तथा पूँजी बजारको विकासलाई प्राथमिकतामा राख्दै आफ्ना सेवाहरू विस्तार गर्दै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij