२०८३ कार्तिक ३० गते सोमवार
काठमाडौं । २० वटा वाणिज्य बैंकले मंसिर महिनाका लागि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरअनुसार १४ बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ बैंकले घटाएका छन्। ब्याजदर बढाउने बैंक भने कुनै छैनन्।
मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा बढी ब्याज सानिमा बैंकले दिने भएको छ। बैंकले अधिकतम ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ। त्यस्तै, एनएमबी र प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशत ब्याज दिने भएका छन्।
व्यक्तिगत निक्षेपतर्फ सबैभन्दा कम ब्याजदर माछापुच्छ्रे बैंकको ३.५ प्रतिशत रहेको छ। कुमारी बैंकले ३.६१ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड र कृषि विकास बैंकले ३.६५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
संस्थागत मुद्दती निक्षेपतर्फ पनि सानिमा बैंकले सबैभन्दा बढी ३.५१ प्रतिशत ब्याजदर तोकेको छ। नेपाल बैंकले ३.५ प्रतिशत तथा एभरेष्ट, लक्ष्मी सनराइज, हिमालयन र एनएमबी बैंकले ३.२५ प्रतिशत ब्याज दिने भएका छन्।
मंसिरका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाउनेमा माछापुच्छ्रे, कृषि विकास, एनएमबी, लक्ष्मी सनराइज, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्। संस्थागततर्फ भने एनएमबी बैंकले मात्रै ब्याजदर घटाएको छ।
माछापुच्छ्रे बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशतमा झारेको छ। कृषि विकास बैंकले ४.१५ बाट ३.६५ प्रतिशत, एनएमबीले ३.५० बाट ३.२५ प्रतिशत तथा लक्ष्मी सनराइजले ४ बाट ३.७५ प्रतिशत कायम गरेको छ।
त्यस्तै, कुमारी बैंकले ३.७ बाट घटाएर ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७ बाट घटाएर ३.६५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
बैंकहरूले सार्वजनिक गरेका यी अधिकतम ब्याजदर सामान्यतया पाँच वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपका लागि हुन्। एकवर्षे मुद्दती निक्षेपमा भने अधिकांश बैंकले २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij