२०८३ आश्विन २६ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको मतगणना कार्यलाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मत गणना भइरहेको छ।
सभापतिसहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएपछि निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणना तीव्र पारेको हो। धेरै पद र उम्मेदवारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले पद र क्लस्टरअनुसार छुट्टाछुट्टै टोली बनाएर गणना अघि बढाइएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।
जसअनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना ५ स्थानमा भइरहेको छ भने प्रवासस्थित नेपाली जनसम्पर्क समितिको मतगणनाका लागि सबैभन्दा धेरै ९ स्थानमा टोली परिचालन गरिएको छ।
यस्तै, आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्यतर्फको गणना ३ स्थानमा भइरहेको छ। सुदूरपश्चिम प्रदेशतर्फको खुला केन्द्रीय सदस्य, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना ४ स्थानमा जारी छ भने पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्यको गणना २ स्थानमा भइरहेको छ।
उम्मेदवार तथा तिनका आधिकारिक प्रतिनिधिको उपस्थितिमा कडा सुरक्षाका साथ शान्तिपूर्ण रूपमा मतगणना जारी राखिएको छ। सदस्यसचिव कटुवालका अनुसार बुधबारसम्म सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ।
अघिल्लो महाधिवेशनमा भन्दा दोब्बरभन्दा बढी (करिब ७ हजार) मतदाता रहेकाले गणनामा केही ढिलाइजस्तो देखिए पनि यसअघिको तुलनामा छिट्टै नतिजा आउने उनको दाबी छ। १४औँ महाधिवेशनमा झन्डै ३ हजार मतदाता रहँदा परिणाम आउन १२ दिन लागेको स्मरण गराउँदै उनले यसपटक धेरै समय नलाग्ने स्पष्ट पारे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij