Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

आजको सबै खबर एकै ठाउँमा

आजको सबै खबर एकै ठाउँमा

images

  • 575
    Shares

    आजको सबै खबर एकै ठाउँमा
    images

    १. समयअगावै कन्काई नदीमा पुल निर्माण सम्पन्न

    झापाको शिवसताक्षी नगरपालिका र झापा गाँउपालिका जोड्ने  कन्काई पुल निर्धारित समय भन्दा अगाडी निर्माण सम्पन्न भएको छ । २०७९ पुस ११ गते सडक विभागसँग शर्मा एण्ड कम्पनीले ठेक्का सम्झौता गरेर निर्माण थालेको थियो । डिजाइन एण्ड विल्ड मोडलमा सम्झौता गरिएको ठेक्कामा निर्माण शुरु २०८० फागुन १० गतेदेखि थालिएको शर्मा एण्ड कम्पनीका सञ्चालक रमेश शर्माले जानकारी दिनुभयो । तीन महिनामा डिजाइनको काम सम्पन्न गर्नुपर्ने भएपनि सडक विभागले डिजाइन फाइनलमा ९ महिना भन्दा बढी समय लगाएको थियो । शिवगञ्ज पुरानो बजार–पूर्व पछुवाडा बजार–झापा जोड्ने काँकाई नदीमाथिको पुल निर्माण भएर २०८३ असार अन्तिमदेखि यातायात सुचारु भइसकेको छ ।

    २. फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो, सिसडोलबाट दैनिक ३ हजार किलो फोहोर हटाउँदैछौँः मन्त्री श्रेष्ठ

    उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक मुद्दा भन्दा ठूलो रहेको बताउनुभएको छ । बिहीवार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले फोहोरको मुद्दा समयमै व्यवस्थापन गरी नेपाललाई सफा बनाउने अभियानमा सबै लाग्नुपर्ने बताउनु भयो । महानगरपालिकाले अघि सारेको तीन कार्यक्रममध्ये काठमाडौंलाई रिचार्ज गर्ने र फोहोरबाट बायोग्यास निकाल्ने काम पूरा भएको बताउनु भयो । काठमाडौंको फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन हुने अनुमान गरिएको भएपनि अहिले उपकरण बिग्रिएकाले केही समय सम्भव नरहेको बताउनु भयो ।

    ३. जाजरकोटमा एकै दिन २ हजार १५ जनाको स्वास्थ्य परीक्षण, वृद्ध आमाले भनिन्– ‘तपाईं मेरो सातौँ छोरो’

    जाजरकोट जिल्ला अस्पतालमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एकै दिन २ हजार १५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । गिरिजाप्रसाद कोईराला फाउण्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को समन्वयमा बुधवार सञ्चालित शिविरमा महिला, बालबालिका तथा वृद्धवृद्धासहित ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए । शिविरमा १६५ जनाको ईसीजी, ३९८ जनाको भिडियो एक्सरे, १८३ जनाको प्रयोगशाला परीक्षण र १२९ जनाको इको परीक्षण गरिएको थियो । त्यस्तै, २९ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका १६२ जनालाई काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको आयोजकले जनाएको छ ।

    ४. ‘पोखरामा सीप सिक्ने युवाको आकर्षण, स्वदेशमै आत्मनिर्भर बन्ने प्रयास’

    पोखरा महानगरपालिकामा निर्वाचित भएर आएपछि मेयर धनराज आचार्यको एउटा परिकल्पना थियो–कोही पनि मानिस सीप नहुँदा बेरोजगार भएर बस्न नपरोस् । युवालाई सीप सिकाएर आत्मनिर्भर बनाउने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित महानगरपालिकाले व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना ग¥यो । अहिले यही केन्द्र युवाहरूका लागि सीप सिक्ने र स्वरोजगार बन्ने महत्वपूर्ण माध्यम बन्दै गएको छ । व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत हालसम्म करिव ३ हजार ५ सय भन्दा धेरै  जनाले विभिन्न सीपमूलक तालिम लिइसकेको केन्द्रका अधिकृत नवराज अधिकारीले जानकारी दिनुभयो । 

    ५. इजिप्टमा पेट्रोलियम पदार्थ बोकेको ट्रकमा आगलागी हुँदा ३० जनाको मृत्यु, २५ घाइते

    इजिप्टको राजधानी कायरो नजिकै पर्ने गिजा प्रान्तमा पेट्रोलियम पदार्थ बोकेको ट्रक दुर्घटनापछि आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । बुधवार अल–वराक जिल्लास्थित रिङ रोडमा पेट्रोलियम पदार्थ बोकेको ट्रक दुर्घटनामा परी आगलागी भएको इजिप्टको सार्वजनिक अभियोजन कार्यालयले जनाएको छ । आगलागीका कारण कार र मोटरसाइकलसहित २७ वटा सवारीसाधन जलेर नष्ट भएका छन् । घटनाबारे सार्वजनिक अभियोजन कार्यालयले अनुसन्धान शुरु गरेको जनाएको छ । दुर्घटनाको कारण र घटनाको वास्तविक अवस्था पत्ता लगाउन अभियोजनकर्ताहरूको टोली घटनास्थलमा खटाइएको छ ।

    ६. एआई नियमनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यकः राष्ट्रसंघ महासचिव गुटेरेस

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र प्रयोगलाई व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् । सुरक्षा परिषद्को खुला बहसलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले एआईले अर्थतन्त्र, समाज र सुरक्षाको क्षेत्रमा तीव्र परिवर्तन ल्याइरहेको तर विद्यमान संस्थाहरूले त्यसअनुसार आफूलाई अनुकूल बनाउन नसकेको बताए । उनले एआईको सुरक्षित विकास र प्रयोगका लागि सबै देशको सहभागितामा साझा मापदण्ड, जोखिम मूल्याङ्कन तथा प्रभावकारी निगरानी प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । एआई प्रणाली निर्माण गर्ने कम्पनीहरूलाई समेत जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ । 

    ७. चिनियाँ अन्तरिक्ष अभियानमा पाकिस्तानी नागरिक सहभागी भएपछि देशभर उत्साह, ऐतिहासिक उपलब्धिको प्रशंसा

    चीनको अन्तरिक्ष अभियानमा पहिलोपटक पाकिस्तानी अन्तरिक्षयात्री सहभागी भएपछि पाकिस्तानमा उत्साह र खुशी व्यक्त गरिएको छ । चीनले बुधवार तीन जना अन्तरिक्षयात्रीसहितको ‘शेन्झाउ–२४’ मानवयुक्त अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त अभियानमा पाकिस्तानी पेलोड विशेषज्ञ मुहम्मद जीशान अली पनि सहभागी छन् । उनी चीनको अन्तरिक्ष केन्द्र ‘तियाङगोङ’ भ्रमण गर्ने पहिलो विदेशी अन्तरिक्षयात्री बनेका छन् । यस उपलब्धिलाई पाकिस्तानका अन्तरिक्ष विज्ञ, प्राध्यापक तथा विद्यार्थीहरूले ऐतिहासिक भन्दै खुशी व्यक्त गरेका छन् । उनीहरूले अलीलाई अन्तरिक्ष यात्राको सफलताको शुभकामना दिँदै उनको उपलब्धिले पाकिस्तानी युवालाई अन्तरिक्ष विज्ञानमा अघि बढ्न प्रेरणा दिने बताएका छन् । 

    ८. चीन–भियतनाम सीमा नजिक नयाँ एक्सप्रेसवे सञ्चालनमा, सीमा व्यापार र यातायात सहज हुने

    चीनले भियतनामसँगको सीमा नजिक नयाँ एक्सप्रेसवे सञ्चालनमा ल्याएको छ । नयाँ सडक सञ्चालनमा आएसँगै दुई देशबीचको सीमापार यातायात तथा व्यापारिक ढुवानी थप सहज हुने अपेक्षा गरिएको छ । चीनको युनान प्रान्तमा निर्माण गरिएको ५१ दशमलव ४ किलोमिटर लामो एक्सप्रेसवेले तियानबाओ बन्दरगाहलाई मालिपो काउन्टीसँग जोडेको छ । नयाँ एक्सप्रेसवे सञ्चालनमा आएपछि वेन्शान सहरबाट सीमावर्ती बन्दरगाहसम्म पुग्न लाग्ने समय करिब दुई घण्टाबाट घटेर ८० मिनेटमा झरेको छ ।यसले क्षेत्रीय सडक सञ्जालको विस्तारसँगै सीमापार आवागमन, व्यापारिक ढुवानी र रसद व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

    ९.टर्कीमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु

    टर्कीको मध्य क्षेत्रमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना सैनिकको मृत्यु भएको छ । टर्कीको एस्किसेहिर प्रान्तमा मंगलवार वायुसेनाको सैन्य हेलिकोप्टर दुर्घटनामा परेको टर्किस सञ्चारमाध्यम एनटीभीले जनाएको छ । टर्कीको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एनटीभीले जनाएअनुसार एएस–५३२ मोडेलको उक्त हेलिकोप्टर नियमित प्रशिक्षण उडानका क्रममा दुर्घटनामा परेको हो । दुर्घटनापछि हेलिकोप्टरको भग्नावशेष फेला परेको छ भने घटनास्थलमा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो । दुर्घटनाको कारणबारे थप विवरण सार्वजनिक भएको छैन ।

    १०. भारतको उत्तर प्रदेशमा ट्रकले स्कुल बसलाई ठक्कर दिँदा चार विद्यार्थीको मृत्यु, ३० भन्दा बढी घाइते

    भारतको उत्तरी राज्य उत्तर प्रदेशमा ट्रकले स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा चार जना विद्यार्थीको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् । मंगलवार कन्नौज जिल्लास्थित आगरा–लखनउ एक्सप्रेसवेमा उक्त दुर्घटना भएको हो । शैक्षिक भ्रमण सकेर घर फर्किरहेका विद्यार्थी सवार बस सडक किनारमा रोकिराखेको अवस्थामा तिब्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा बसको पछाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । 

    ११. विदेशी लगानी भित्र्याउन लिबियामा पहिलो अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन शुरु

    लिबियाले ऊर्जा क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित पहिलो अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन तथा प्रदर्शनी शुरु गरेको छ । लिबियाका प्रधानमन्त्री अब्दुल–हामिद दबेबाले मंगलवार राजधानी त्रिपोलीमा सम्मेलनको उद्घाटन गरेका हुन् । राष्ट्रिय तेल निगम (एनओसी) को आयोजनामा शुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय ऊर्जा कम्पनी तथा लिबियाका ऊर्जा क्षेत्रका कम्पनीबीच साझेदारी विस्तार गर्नु र विदेशी लगानी भित्र्याउनु रहेको छ । 

    १२. सुडानमा ड्रोन आक्रमणबाट १९ सर्वसाधारणको मृत्यु, २० भन्दा बढी घाइते

    सुडानको दक्षिणपूर्वी ब्लु नाइल राज्यका दमाजिन र अल–रोसेरेस शहरमा भएका ड्रोन आक्रमणमा कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । प्रत्यक्षदर्शी र स्वयंसेवी समूहकाअनुसार मंगलवार बिहानदेखि शुरु भएका आक्रमण साँझसम्म जारी रहेका थिए । दमाजिनमा साँझको समयमा चारवटा ड्रोनले आवासीय क्षेत्रमा आक्रमण गर्दा धेरै हताहती भएको प्रत्यक्षदर्शीले बताएका छन् । स्वयंसेवी मानव अधिकार समूह ‘इमर्जेन्सी लयर्स’ले मंगलवार साँझ दमाजिनका विभिन्न बस्तीमा भएको आक्रमणमा १९ जनाको मृत्यु र १५ जना घाइते भएको जनाएको छ । मृत्यु हुनेमा तीन परिवारका सदस्य तथा छ महिला रहेको समूहले उल्लेख गरेको छ । 

    १३. १० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परीक्षण शुरु

    विगत १० वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि परिक्षण शुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले बिहीवार एक कार्यक्रमको आयोजना गरी बायोग्यास प्लान्ट परीक्षण शुभारम्भ गरेको हो । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले प्लान्ट परीक्षणको शुभारम्भ गर्नुभयो । यसअघि कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई बायोग्यास प्लान्ट सञ्चालनको लागि हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ढकालले ऊर्जा मन्त्रालयको निर्देशन र काठमाडौं महानगरपालिकासँगको सहकार्यमा प्लान्टको प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

    १४. दूरसञ्चार सेवाको गुणस्तर मापदण्ड कार्यान्वयन कुनै बहानामा छुट हुँदैनः प्राधिकरण

    नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर सुधारका लागि तोकिएको मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । बिहीवार काठमाडौंमा आयोजित दूरसञ्चार सेवाको वर्तमान अवस्था र सञ्चार सेवाको गुणस्तर विषयक अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सेवा प्रदायकहरूले तोकिएको मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो । उहाँले प्राधिकरणले निर्धारण गरेका गुणस्तरसम्बन्धी मापदण्ड पूरा गर्नु सेवा प्रदायकहरूको अनिवार्य दायित्व भएको स्पष्ट पार्नुभयो । मापदण्ड कार्यान्वयनमा कुनै बहाना वा छुट स्वीकार्य नहुने उहाँको भनाइ छ । सेवा प्रदायकहरुले गुणस्तर सुधारका योजना बनाएपनि कार्यान्वयनमा अझै कमजोरी देखिएको उहाँले बताउनुभयो । 

    १५. पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति सरकारले तत्काल बनाउनुपर्छः सुनिता डंगोल

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ । बिहीवार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उहाँले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति तत्काल बनाउन माग गर्नुभएको हो । बायोग्यास उत्पादनपछि त्यसको वितरण कसरी गर्ने भन्ने विषयमा स्पष्ट नीति नहुँदा सञ्चालनमा चुनौती आउने देखिएको उहाँले बताउनु भयो । उहाँले ग्यास वितरणका लागि सिलिण्डर र पाइपलाइन दुवै विकल्पबारे नीतिगत स्पष्टता गर्नुपर्नेमा जोड दिनुभयो । 

    १६. भीम रावलको आरोप – ‘बालेन्द्र साह पनि सत्ताको लागि भारतसँग लम्पसार परे’

    नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीमबहादुर रावलले वर्तमान प्रधानमन्त्री बालेन्द्र साह भारतसँग लम्पसार परेको आरोप लगाउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बालेन्द्र साह पनि पुरानाहरुजस्तै सत्ताको लागि भारतसँग लम्पसार परेको आरोप लगाउनुभएको हो । उहाँले भारतको ‘पीएम गतिशक्ति’ कार्यक्रमलाई नेपालको विकास तथा पूर्वाधार योजनासँग जोड्ने विषय आपत्तिजनक भएको पनि बताउनु भयो । नेपालको विकासको खाका नेपालकै आवश्यकता, संविधान र राष्ट्रिय हितअनुसार तय हुनुपर्ने उहाँको भनाई छ । भारतबाट प्रश्तावित साझेदारीको पुनःपरिकल्पना सम्बन्धी दस्तावेजमा नेपालको सार्वभौमसत्तामाथी ठाडो हस्तक्षेप भएको उहाँको दाबी छ । उहाँले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गर्नुभयो ।

    १७. काँग्रेस केन्द्रिय समिति बैठकमा एजेण्डामाथि सदस्यहरुले धारणा राख्ने क्रम सकिएन, शुक्रवार फेरि बस्ने

    नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकमा केन्द्रिय समिति सदस्यहरु धारणा राख्ने क्रम जारी छ । मंगलवारदेखि जारी बैठकमा एजेण्डामाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम बिहीवार पनि जारी रहेको पार्टीका केन्द्रिय सदस्य सुशील भट्टले बताउनु भयो । उहाँकाअनुसार बैठकमा पार्टीले यही मंसिर १५ गतेदेखि सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियानको तयारी, सुकुम्बासी व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीको विषयमा केन्द्रित रहेर केन्द्रिय सदस्यहरुले धारणा राखिरहेका छन् । उहाँले पार्टीको १५ महाधिवेशनबाट पारित दस्तावेजअनुसार समाजका मुद्दालाई कसरी पार्टीको एजेण्डा बनाउने भन्ने विषयमा समेत नेताहरु ले धारणा व्यक्त गरिरहनुभएको बताउनु भयो । 

    १८. वीर अस्पतालका नयाँ र पुरानो भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

    काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ । बिहीवार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त आकासे पुल निर्माणको शिलान्याश गर्नुभएको हो । पुल निर्माणको शिलान्याश गर्दै उहाँले देशभरका बिरामीले स्वास्थ्य सेवा लिन आउने पहिलो ठाउँ वीर अस्पताल भएको बताउनु भयो । देशभरबाट बिरामी आउने भएकाले नयाँ र पुरानो भवनबीच सहज आवतजावतको व्यवस्था गर्न पुल निर्माण गर्न लागिएको उहाँको भनाइ छ । 

    १९. ९० दिने कार्ययोजना ल्याएर समस्या समाधानमा लाग्छौँः उद्योगमन्त्री साह

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताउनुभएको छ । यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिष्पर्धाका बीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले लगानी आकर्षित गर्न प्राकृतिक स्रोत र बजारको सम्भावना मात्र पर्याप्त नहुने बताउँदै कार्ययोजना बनाएर सुधारको काम थालिने बताउनु भयो । उहाँकाअनुसार लगानीका लागि नीतिगत स्थिरता, पारदर्शिता, सरकारी निर्णय प्रक्रियामा छिटोपना र लगानीकर्ताको विश्वास महत्वपूर्ण हुन्छ । त्यसका लागि ९० दिने कार्ययोजना बनाएर काम अघि बढाउने तयारी छ । 

    २०. आन्तरिक राजश्व विभागको सदाचार सम्पर्क व्यक्ति तोकियो

    आन्तरिक राजश्व विभागमा सदाचार सम्पर्क व्यक्ति तोकिएको छ । विभागको बुधवारको निर्णयअनुसार अनुगमन, मूल्यांकन तथा सुशासन शाखाका निर्देशक गणेशप्रसाद नेपाललाई सदाचार सम्पर्क सम्पर्क व्यक्ति तोकिएको हो । मन्त्रिपरिषद्ले २०८३ असार १८ गते स्वीकृत गरेको राष्ट्रिय सदाचार नीति, २०८३ मा संघ, प्रदेश र स्थानीय तहका प्रत्येक निकायले भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनका लागि सम्पर्क बिन्दु तथा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ । सोहीअनुसार विभागले नेपाललाई पाँचवटा मुख्य जिम्मेवारी दिएको छ । 

    २१. नेपाल वायुसेवा निगमबाट दिएको कर्जा असुलीमा सरकारको विशेष पहल गरिदिनुप¥योः कार्की

    नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीले नेपाल वायुसेवा निगमलाई प्रदान गरिएको कर्जा असुली गर्न आफूहरुले मात्रै नसकेको बताउनुभएको छ । 
    बिहीबार संसदीय समितिमा सरकार जमानीमा बसेर दिइएको कर्जा असुली गर्न आफूहरुले नसकेको भन्दै सरकारले विशेष पहल गरिदिनुपर्ने बताउनु भयो । उहाँकाअनुसार अब असुली गर्न सरकारको सक्रिय पहल आवश्यक  छ । निगमको कमजोर वित्तीय अवस्थाका कारण ठूलो रकम भुक्तानी नगरेका कारण असुली गर्न समस्या भएको बताउनु भयो । संसद्को अर्थ समितिको बैठकमा बोल्दै उहाँले नेपाल वायुसेवा निगममा गरिएको लगानीको ब्याजसमेत अर्बौं रुपैयाँ पुग्ने अवस्था रहेको बताउनु भयो । कोषले आफ्नो तर्फबाट कर्जा असुलीका लागि निरन्तर प्रयास गरिरहेको भए पनि एक्लैको प्रयासबाट समस्या समाधान गर्न कठिन रहेको उहाँको भनाइ छ । 

    २२. नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो

    नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुगेको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिनामा नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको कार्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार आर्थिक वर्षको शुरुवातमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको थियो । कार्तिक मसान्तसम्म विनिमय दरमा भएको परिवर्तनका कारण ४३ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको लाभसमेत समायोजन भएको प्रतिवेदनमा उल्लेख छ ।

    २३. सांसदहरुले भने–ठूला परियोजनाहरुमा नागरिक लगानी कोषले लगानी बढाउनुप¥यो

    नागरिक लगानी कोषले अब लगानीलाई वृहत्त रुपमा बढाउनुपर्ने सांसदहरुले बताउनुभएको छ । कोषको लगानी अत्यान्तै सिमित भएको भन्दै ठूला परियोजनाहरुमा समेत कोषले लगानी बढाउनुपर्ने बताउनुभएको हो । बिहीवारको अर्थसमितिको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा लगानी गर्न कानूनले नागरिक लगानी कोषलाई नरोक्ने भएकाले त्यस्ता क्षेत्रमा लगानी विस्तार गर्न अग्रह गर्नुभयो उहाँले बुट मोडलमा निर्माण हुने सुरुङमार्गजस्ता दीर्घकालीन पूर्वाधार परियोजनामा सरकारले लगानीका लागि अवसर उपलब्ध गराउने भएकाले नागरिक लगानी कोषले पनि त्यस्ता परियोजनामा सहभागी हुनुपर्ने बताउनु भयो ।

    २४. स्वतन्त्र पत्रकारिता बिना लोकतन्त्र बलियो हुँदैनः अमरेशकुमार सिंह

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले स्वतन्त्र पत्रकारिताको पक्षमा आफू रहेको बताउनुभएको छ । मेची–महाकाली पदयात्राका क्रममा जनकपुर पुग्नुभएका उहाँले बिहीवार यस्तो बताउनुभएको हो । सरकारले पत्रकारहरुलाई सञ्चार गृहबाटै पक्राउ गरिएको प्रकरणबारे सञ्चारकर्मीहरुले राख्नुभएको जिज्ञासामा सांसद सिंहले सरकारको उक्त कदमको विरोध गर्नुभएको हो । उहाँले स्वतन्त्र पत्रकारिता बिना लोकतन्त्र बलियो हुन नसक्ने उहाँको भनाइ छ । आफू सधैँ लोकतन्त्र, मानव अधिकार, कानूनको शासन, स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - २०:१५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij