२०८३ मंसिर १० गते बिहिवार
काठमाडौं । नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित समुदायमा सूचीकृत गर्ने नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरेको छ।
राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले २०८३ असोज ८ गते नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित सूचीकरण गरी नेपाल राजपत्रको भाग ५, खण्ड ७६, संख्या ३६ मा प्रकाशित गरेको निर्णयप्रति नेवार समुदायले विरोध जनाउँदै सूचीबाट हटाउन माग गरिरहेको उल्लेख छ।
विज्ञप्तिमा नेवार समुदायका जातीय परम्परा, भाषा, मातृभाषा र संस्कृतिलाई अवमूल्यन गर्ने गरी सरकारले गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको घोर भर्त्सना गरिएको छ।
एमाले राजधानी प्रदेश कमिटीले नेवार समुदाय, समुदायभित्रका संस्कृतिविद्, अगुवा तथा बुद्धिजीवीहरूको राय–सल्लाह र सुझावसमेतलाई ध्यानमा राख्दै सम्बन्धित समुदायसँग परामर्श गरेर आम सहमतिका आधारमा निर्णय लिन सरकारसँग माग गरेको छ।
उक्त निर्णय तत्काल खारेज गरी सूचीकरणमा आवश्यक परिमार्जन गर्नसमेत एमालेले सरकारको ध्यानाकर्षण गराएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij