Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

रास्वपा नगर सचिवकी आमाको अन्त्येष्टिमा सशस्त्र प्रहरीको शोक सलामी

रास्वपा नगर सचिवकी आमाको अन्त्येष्टिमा सशस्त्र प्रहरीको शोक सलामी

images

  • 316
    Shares

    रास्वपा नगर सचिवकी आमाको अन्त्येष्टिमा सशस्त्र प्रहरीको शोक सलामी
    images

    जनकपुरधाम । बारा क्षेत्र नम्बर–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता मनोजप्रसाद चौधरीकी आमाको अन्त्येष्टिमा सशस्त्र प्रहरीले शोक सलामी दिएको घटनाले विवाद उत्पन्न भएको छ । नियम र परम्परा विपरित सलामी दिइएको विषयमा सशस्त्रले छानविन सुरु गरेको छ ।

    रास्वपाका कोल्हवी नगर सचिव रहेका चौधरी पूर्वसशस्त्र प्रहरीसमेत हुन् । उनकी आमाको अन्त्येष्टिमा सहभागी भएर सशस्त्र प्रहरीको एक टोलीले सलामी दिएको थियो । अन्त्येष्टिमा रास्वपाको टोलीसहित बारा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य गणेश धिमालको समेत उपस्थिति रहेको थियो ।

    सामाजिक सञ्जालमा उक्त घटनाका तस्बिर तथा विवरण सार्वजनिक भएपछि पूर्वसशस्त्र प्रहरी कर्मचारीका परिवारलाई यसरी शोक सलामी दिन मिल्ने कि नमिल्ने भन्ने प्रश्न उठेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर–१२ गण बाराका एसपी विशाल सिलवालका अनुसार चौधरी सशस्त्र प्रहरीको बहालवाला कर्मचारी रहेको जानकारीका आधारमा सलामीका लागि टोली पठाइएको थियो । तर पछि बुझ्दै जाँदा उनी भूतपूर्व भइसकेको पाइयो ।

    सङ्गठनमा कार्यरत कर्मचारीका आफन्तको निधन हुँदा शोक सलामी दिने चलन रहे पनि भूतपूर्व कर्मचारीका आफन्तलाई भने यसरी सलामी दिन नमिल्ने उनले बताए । यस घटनामा त्रुटि भएको स्वीकार गर्दै कसको आदेशमा टोली गएको हो भन्नेबारे छानबिन भइरहेको जानकारी दिए ।

    चौधरीकी आमाको नाम सरली थरुनीको अन्त्येष्टिमा सशस्त्र प्रहरीका ११ जना कर्मचारी सलामी दिन गएको एसपी सिलवालले नेपाल प्रेसलाई बताए ।

    विवादपछि चौधरीले आफू अहिले सरकारको कुनै पनि सार्वजनिक पदमा नरहेको र पूर्वसशस्त्र प्रहरी कर्मचारी रहेको बताएका छन् ।

    आफू पूर्वसशस्त्र प्रहरी भएकाले बुवाआमाको निधन हुँदा आफूले काम गरेको सङ्गठनले दिने आदर्श सम्मानस्वरूप शोक सलामी दिएको उनको दाबी छ ।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘म सरकारको कुनै पनि सार्वजनिक पदमा छैन । पहिला म पूर्वसशस्त्र प्रहरी हुँ । हाम्रा पुजनीय बुवाआमाको देहान्त भएपछि मैले काम गरेको संगठनले दिने आदर्श सम्मान शोक सलामी हो । यस्तो दुःखको घडीमा टीकाटिप्पणी नगरिदिनुहोला ।’

    उनले देशमा सङ्कट वा आपत्कालीन अवस्था आए सरकारले पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई समेत सेवामा फर्काउन सक्ने भन्दै आफूले संगठनबाट पाउने सम्मान लिएको तर्क गरेका छन् । तर रास्वपाको प्रभाव प्रयोग गरी शोक सलामी लिइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १९:५१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij