२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको अवसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सामाजिक सञ्जाल लक्षित सिर्जनात्मक भिडियो प्रतियोगिता ‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ आयोजना गरेको छ।
नेपाली कांग्रेसको गौरवमय इतिहास, जारी महाधिवेशन तथा समसामयिक राजनीतिक विषयवस्तुलाई डिजिटल पुस्ता र युवामाझ प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेविसंघले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कांग्रेसको इतिहास, महाधिवेशन तथा समसामयिक सन्दर्भ समेटेर मौलिक तथा सिर्जनात्मक भिडियो निर्माण गरी फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका डिजिटल प्लेटफर्ममा पोस्ट गर्नुपर्नेछ।
प्रतियोगिताबाट उत्कृष्ट १५ जना स्रष्टालाई कुल २ लाख २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट १२ जनालाई जनही १० हजार रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिने नेविसंघले जनाएको छ।
प्रतियोगितामा सहभागीहरूले एकल, समूह वा परिवारसँग मिलेर नृत्य, अभिनय, कथावाचन (Storytelling) लगायतका विभिन्न सिर्जनात्मक शैलीमा भिडियो बनाउन सक्नेछन्।
विजेता छनोट गर्दा भिडियोको विषयवस्तुको गुणस्तर, सिर्जनशीलता, प्रस्तुति शैली तथा सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट र सेयरलाई आधार बनाइनेछ। कृत्रिम रूपमा ‘बुस्ट’ गरिएका भिडियोहरूलाई भने प्रतियोगितामा समावेश नगरिने नेविसंघकी अध्यक्ष करुणा कटुवालले स्पष्ट पारेकी छन्।
प्रतियोगितामा सहभागी हुन टिकटक, फेसबुक वा इन्स्टाग्राम रिल्समा भिडियो पोस्ट गर्दा नेपाली कांग्रेसको आधिकारिक सामाजिक सञ्जाल खाता अनिवार्य रूपमा फलो र मेन्सन गर्नुपर्नेछ। साथै, आयोजकले तोकेका ह्यासट्यागसमेत प्रयोग गर्नुपर्ने सर्त राखिएको छ।
महाधिवेशनलाई डिजिटल पुस्ता र युवासँग जोड्दै उनीहरूको सहभागिता र उत्साह बढाउन प्रतियोगिता उपयोगी हुने अध्यक्ष कटुवालले बताएकी छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij