२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । एआईको तीव्र विकास र दैनिक जीवनमा यसको बढ्दो प्रयोगबिच क्याम्ब्रिज डिक्सनरीले सन् २०२६ को ‘वर्ड अफ द इयर’ अर्थात् वर्ष शब्दका रूपमा ‘ह्युमन’ (मानव)लाई चयन गरेको छ ।
एआईले मानिसको सोच्ने, काम गर्ने र निर्णय लिने क्षमतामा प्रभाव पारिरहेका बेला ‘ह्युमन’ शब्दको चयनले मानव पहिचान र अस्तित्वको महत्त्वबारे विश्वव्यापी रूपमा भइरहेको बहसलाई प्रतिबिम्बित गरेको छ ।
क्याम्ब्रिज डिक्सनरीका शब्द विशेषज्ञ कोलिन म्याकिन्टोसका अनुसार एआईले मानिसले आफ्नो मानव अस्तित्वबारे कुरा गर्ने तरिकामै परिवर्तन ल्याइरहेको छ ।
मानिसहरू आफ्ना विचार, काम र निर्णयका लागि क्रमशः मेसिनमा निर्भर हुन थालेपछि यसले मानवीय क्षमता र पहिचानमा पार्न सक्ने प्रभावबारे प्रश्न उठ्न थालेको उनले बताएका छन् ।
गणितका विशेषज्ञदेखि साना बालबालिकालाई पढाउने शिक्षकसम्म विभिन्न क्षेत्रका मानिसले एआईमाथिको बढ्दो निर्भरता र त्यसका सम्भावित परिणामबारे बहस गरिरहेका छन् ।
क्याम्ब्रिज डिक्सनरीका अनुसार ‘ह्युमन’ शब्द ल्याटिन भाषाको ‘ह्युमनस’बाट आएको हो । यो शब्द सन् १४५० को दशकदेखि प्रयोग हुँदै आएको मानिन्छ ।
डिक्सनरीमा यसको अर्थ मानिसमा पाइने गुण, कमजोरी र भावनाहरूसँग सम्बन्धित छ, जसले मानिसलाई भगवान्, जनावर र मेसिनभन्दा फरक बनाउँछ ।
सामान्यतया वर्ष शब्द चयन गर्दा नयाँ शब्द, जनबोलीमा लोकप्रिय बनेका शब्द वा समयसँगै अर्थ र प्रयोगमा परिवर्तन आएका पुराना शब्दलाई प्राथमिकता दिइन्छ । यसपटक पुरानै शब्द ‘ह्युमन’ छनोट गर्नुले एआईको युगमा मानिस हुनुको अर्थ र मानवीय विशेषताको महत्त्वमाथि नयाँ बहस सुरु भएको संकेत गर्छ ।
पछिल्ला वर्षहरूमा विभिन्न शब्दकोशले एआईको विकास र त्यसको प्रभावसँग सम्बन्धित शब्दलाई वर्ष शब्दका रूपमा चयन गर्दै आएका छन् ।
सन् २०२३ मा कोलिन्स डिक्सनरीले ‘एआई’लाई वर्ष शब्द घोषणा गरेको थियो । त्यही वर्ष क्याम्ब्रिज डिक्सनरीले ‘ह्यालुसिनेट’ शब्द चयन गरेको थियो । एआईले गलत वा काल्पनिक जानकारीलाई तथ्यका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिलाई यो शब्दले जनाउँछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij