२०८२ भाद्र ९ गते सोमवार
धनगढी । कैलाली कारागार कैदीबन्दीहरूले नियन्त्रणमा लिएका छन् । शुक्रबार राति एक जनाको मृत्यु हुने गरी भएको घटनाको विषयलाई लिएर कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएका छन् ।
सुरक्षा स्रोतका अनुसार अहिले स्थिति नियन्त्रण बाहिर रहेको छ । सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन् । भित्र के कति क्षति भएको छ भन्ने समेत जानकारी लिन नसकिएको स्रोतको भनाइ छ ।
कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् ।
‘कैदीबन्दीहरूले थुनुवा कक्षको मूल गेटमा भित्रबाट ताल्चा लगाएका छन् । ग्याँस सिलिन्डर राखेर आगो लगाउने चेतावनी दिएपछि प्रवेश गर्न सकिएको छैन्’, सुरक्षा स्रोतले भन्यो, ‘राति घाइतेको उद्धार गरिए पनि त्यो भित्रको अवस्था के हो ? भन्न यकिन भएको छैन् ।’
१५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी रहेका छन् । यो कारागारमा शनिबार राति करिब ११ बजेतिर झडप भएको थियो । उक्त झडपमा लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएका छन् ।
घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये गोदावरी नगरपालिकाका आयुश भट्ट र धनगढीका रवि चौधरीको आईसीयूमा उपचार भइरहेको कैलालीका प्रपक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।
कारागारभित्र सुरक्षाकर्मी प्रवेश गर्न नसक्ने अवस्था रहेको बताउँदै डीएसपी सिंहले थप विषयमाजानकारी नभएको बताए । कैलाली कारागारमा केही दिनदेखि झडप भइरहेको छ । बिहीबार पनि झडप हुँदा पाँच जना घाइते भएका थिए । त्यसले शुक्रबार राति ठूलो रुप लिएको हो । प्रहरीका अनुसार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले ब्लक बी मा रहेका कैदीबन्दीमाथि राति अन्धाधुन्ध आक्रमण गरेका थिए ।
स्रोतका अनुसार ब्लक ए बाट बी मा प्रवेश गर्न वर्षाैँ पहिले बनाइएको ढोका इँटाले टालिएको थियोे । इँटाले टालिएको सोही ढोका कारागारभित्र रहेका जिमखानाका सामानले फुटाएर उनीहरू ब्लक बी मा प्रवेश गरेका थिए ।
ब्लक बी मा रहेका अधिकांश कैदीबन्दी निदाएको अवस्था थियो । उनीहरूले त्यहाँ रड, खुकुरी, चक्कु, इँटालगायतले अन्धाधुन्ध आक्रमण गरेका थिए । ब्लक बीमा सुतेकाहरुलाई आफ्नै ब्लकमा लिएर उनीहरुले कुटेका थिए ।
यो आक्रमणको पछाडि दुई वटा कारण छन् । पहिलो भूपेन्द्र बडुवाल हत्या प्रकरणका कैदी सरूवा र दोस्रो कारागारको नाइके परिवर्तन हो । भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएर थुनामा रहेका तीन जनाको सरूवा गरिएपछि २२ गते पनि कैदीबन्दीबीच झडप भएको थियो । उक्त झडपमा पाँच जना घाइते भएका थिए ।
शुक्रबार राति आक्रमण गर्नेमा बडुवाल हत्या, अर्जुन दास हत्या, अत्तरियामा विद्युतका कर्मचारी खुकुरी प्रहार गर्ने समूहका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । अर्काे अहिले कारागार प्रशासनले नाइके परिवर्तन गर्न खोजेको थियो । कैदीबन्दीमध्येबाटै नाइके चयन गर्ने भएकाले आफ्नो वर्चश्व जमाउन माथि उल्लेखित समूहबीच विवाद थियो भने स्थानीय प्रशासन र राजनीतिकर्मीहरू बीच पनि शक्ति संर्घष चलिरहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij