२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने कामका लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार काठमाडौँ नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली, माछापोखरीका टोली प्रमुख वलीले सम्बन्धित काममा अनावश्यक दुःख–हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरी परेको थियो।
उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले वलीलाई भदौ ३१ गते काठमाडौँको टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो।
आयोगले वलीलाई घुसबापत लिइसकेको भनिएको ९ लाख रुपैयाँसहित पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिँदा उक्त रकमसमेत बरामद गरिएको आयोगको भनाइ छ।
वलीविरुद्ध घुस/रिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बिहीबार विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij