२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री वितरण हुँदै आएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। पृथ्वी राजमार्गमा यातायात सुचारु भएसँगै नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरेको हो। नयाँ मूल्य असोज २ गते शुक्रबारदेखि लागू हुनेछ।
गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको केही खण्ड कटान गरेपछि सडक अवरुद्ध भएको थियो। राजमार्ग बन्द हुँदा उपत्यकामा ग्यास आपूर्ति गर्ने उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषालगायतका स्थानबाट वैकल्पिक लामो मार्ग हुँदै ग्यास ढुवानी गरेका थिए।
वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढेको भन्दै सङ्घले निगमले तोकेको २ हजार ६० रुपैयाँमा थप १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा जोडेर प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न उद्योगीहरूलाई निर्देशन दिएको थियो।
तर, अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। यससँगै अतिरिक्त ढुवानी खर्च हटाउँदै पुरानै मूल्यमा ग्यास बिक्री गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ।
सङ्घका अध्यक्ष दिवान चन्दद्वारा जारी परिपत्रमा काठमाडौं उपत्यकामा ग्यास बिक्री गर्ने सबै उद्योगीलाई शुक्रबारदेखि निगमले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री नगर्न निर्देशन दिइएको छ। साथै, आफ्ना डिलरहरूलाई पनि सोहीअनुसार जानकारी गराउन भनिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij