२०८२ भाद्र २४ गते मंगलवार
भारतमा कोरोना भाइरसले विस्फोटक रुप लिँदै गएको छ । त्यहाँ दिनदिनै संक्रमितहरुको नयाँ रेकर्ड बन्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ४ लाख १ हजार ९११ जना नयाँ संक्रमित थपिएका छन् ।
देशमा संक्रमितको आँकडा शुक्रवार पहिलो पटक चार लाखमाथि पुगेको हो । ४ लाखभन्दा धेरै नयाँ संक्रमित भेटिँदा भारतमा ३५ सय २१ जनाले ज्यान गुमाएका छन् । तर एउटा राम्रो समाचार भनेको त्यहाँ एकै दिन अहिलेसम्मकै धेरै २ लाख ९८ हजार ९५१ संक्रमितले कोरोना जितेका छन् ।
भारतमा केबल १० दिनमै नयाँ संक्रमितको आँकडा चार लाख माथि पुगेको हो । देशभरिमा संक्रमणको गतिको कुरा गर्दा १० दिनमै संक्रमितको आँकडा दैनिक ३ लाखदेखि चार लाखमाथि पुगेको हो ।
यसअघि २१ अप्रिलदेखि दैनिक ३ लाखभन्दा धेरै संक्रमित थपिन थालेका थिए । २१ अप्रिलमा ३ लाख १५ हजार संक्रमित भेटिएका थिए ।
त्यसपछि २२ अप्रिलमा ३ लाख ३२ हजार, २३ अप्रिलमा ३ लाख ४५ हजार, २४ अप्रिलमा ३ लाख ४८ हजार, २५ अप्रिलमा ३ लाख ५४ हजार, २६ अप्रिलमा घटेर ३ लाख १९, २७ अप्रिलमा बढेर ३ लाख ६२ हजार, २८ अप्रिलमा ३ लाख ७९ हजार, २९ अप्रिलमा ३ लाख ८६ हजार र ३० अप्रिलमा सबैभन्दा धेरै ४ लाख १ हजार नयाँ संक्रमित भेटिएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij