२०८२ फाल्गुण २१ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीवनका दुई संयोगको स्मरण गरेका छन्। उनले सुखानीका शहीदहरू र ६ वर्षअघि दोस्रो पटक गरेको मिर्गौला प्रत्यारोपण स्मरण गरेका हुन्।
‘आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो। आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
झापा आन्दोलनले निरंकुश व्यवस्थाको विरूद्ध विद्रोहको बिगुल फुकेको उनले बताएका छन्। त्यही क्रममा आफूलाई जेल हालिएको उनले स्मरण गरेका छन्।
‘झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो। जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ। देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले भनेका छन्।
फागुन २१ कहिल्यै नबिर्सने दिन भएको पनि बताएका छन्। अध्यक्ष ओली झापा–५ बाट प्रत्यासी छन्। उनी आज गृहजिल्ला गएका छैनन्। उनले आज बिहान भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मत हालेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij