२०८२ फाल्गुण २१ गते बिहिवार
इरानको इस्लामिक सत्ता ढाल्न अमेरिका र इसराइलले इरानका विभिन्न कुर्द समूहलाई हतियार दिएर इरानभित्र स्थलगत आक्रमणको तयारी गरेका छन्।
अमेरिका र इसराइलले शनिबार इरानमाथि सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध सुरू भएको छ। अमेरिका र इसराइलको संयुक्त आक्रमणको सुरूआतमै सर्वोच्च नेता आयातोल्लाह अलि खमेनी सहित कैयौं वरिष्ठ सैन्य र राजनीतिक अधिकारीहरूलाई पनि मारेको थियो।
अमेरिका र इसराइलले त्यसपछि लगातार इरानमाथि हवाई आक्रमण गरिरहेका छन्। तर हवाई आक्रमणले मात्रै इरानको धार्मिक शासन नढलेपछि त्यहाँका अल्पसंख्यक कुर्दहरूलाई हतियार दिएर अमेरिका र इसराइलले इरानभित्र स्थलगत आक्रमण गराउन लागेका हुन्।
अमेरिका र इसराइलका गुप्तचर संस्था सिआइए र मोसादले हतियार दिएर इरानको उत्तर-पश्चिमी भागमा स्थलगत हमला गराउन लागेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
इरानमा सत्ता पल्टाउन अमेरिकी स्थल सेना पठाउँदा अमेरिकाभित्रै विरोध हुने र अमेरिकी सैनिक मारिने खतरा पनि भएकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुर्दलाई हतियार दिएर हमला गराउन राजी भएको मानिन्छ।
अमेरिकाले भने त्यस्तो कुनै योजना नबनाएको दाबी गरिरहेको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बुधबार पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासन विरूद्ध कुर्द मिलिसियाहरूको आक्रमणलाई समर्थन गर्ने कुनै पनि योजनामा सहमति नजनाएको बताइन्। तर अमेरिका र इसराइलले मिलेर त्यस्तो योजना बनाइरहेको भनेर पछिल्ला दिनमा विभिन्न अमेरिकी मिडियाले लेखेका छन्।
ट्रम्पले इरानमा आक्रमण गरेको भोलिपल्ट आइतबार नै इराकमा रहेका कुर्द नेताहरूसँग फोनमा कुरा गरेको ती मिडियाले जनाएका छन्। शिया बहुल इरान र इराक दुवै देशमा कुर्दहरू अल्पसंख्यकका रूपमा छन्। इरानी शासकबाट जोगिन धेरै कुर्द विद्रोहीहरू भागेर इराकमा छन्
विगतमा इराकमा रहेका कुर्दहरूले इराकमा रहेका अमेरिकी सेनासँग सहकार्य गरेका थिए। अहिले इरानबाट भागेर इराक गएका कुर्दहरूलाई हतियार दिएर अमेरिका र इसराइलले अब इरानमा आक्रमण गर्न लगाउन लागेका हुन्। इराकी कुर्दहरू नै पनि त्यस्तो हमलामा सामेल हुन सक्छन्।
इरानी सेना र इरानका इस्लामिक शासकले आफ्नो शासन जोगाउन बनाएको 'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स' (आइआरजिसी) कुर्द विद्रोहीहरूको तुलनामा धेरै शक्तिशाली छन्। तर अमेरिकी र इसराइली वायुसेनाले इरानीमाथि बम वर्षाएर आकाशबाट साथ दिँदा कुर्दहरूले इरानी सेनालाई हराउन सक्ने अमेरिका र इसराइलको आँकलन छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij