२०८२ फाल्गुण १९ गते मंगलवार
काठमाडौं । साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एउटा ठूलो तेल प्रशोधन केन्द्र (आयल रिफाइनरी)मा ड्रोन आक्रमणबाट गम्भीर क्षति पुगेको तथ्य सार्वजनिक भएको छ । बीबीसी भेरिफाईले विश्लेषण गरेका नयाँ स्याटेलाइट तस्बिरहरूले उक्त प्रशोधन केन्द्रमा भएको नोक्सानी पुष्टि गरेका हुन् ।
‘भान्टोर’ले मंगलबार खिचेका ती तस्बिरहरूमा प्रशोधन केन्द्रको मध्य भागमा रहेका कुलिङ टावरहरू वरपर आगलागी भएको र डढेका काला दागहरू स्पष्ट देखिएका छन् । यो क्षेत्र प्रशोधन केन्द्रको मुटु मानिन्छ, जहाँबाट विभिन्न भण्डारण एकाइहरूलाई मुख्य पियरसँग जोड्ने पाइपलाइनहरूको सञ्जाल रहेको छ ।
यो प्रशोधन केन्द्रको क्षमता दैनिक ५ लाख ५० हजार ब्यारेल तेल उत्पादन गर्ने रहेको छ । यहाँको पूर्वाधार यति ठूलो छ कि यसले एकैसाथ चारवटा विशाल तेल ट्याङ्करहरूमा इन्धन भर्न सक्ने क्षमता राख्दछ ।
साउदी अरबको सरकारी तेल कम्पनी ‘आरामको’ले आक्रमणपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उक्त प्रशोधन केन्द्रलाई अस्थायी रूपमा बन्द गरिएको जनाएको छ । ड्रोन प्रहारका कारण मेसिनरी र पाइपलाइनमा क्षति पुगेपछि प्राविधिक मर्मत र सुरक्षा जाँचका लागि उत्पादन रोक्नुपरेको कम्पनीको भनाइ छ ।
विश्वको तेल आपूर्तिमा महत्वपूर्ण हिस्सा ओगट्ने साउदीका यस्ता रणनीतिक प्रतिष्ठानहरूमाथि भइरहेका श्रृङ्खलाबद्ध आक्रमणले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्न सक्ने त्रास समेत बढाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij