२०८२ फाल्गुण २१ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा उत्साहपूर्ण रूपमा मतदान भइरहेको छ । चुनावी प्रतिस्पर्धाका कारण देशभरको ध्यान खिचेको यो क्षेत्रलाई यसपटक ‘चुनावी इपिसेन्टर’का रूपमा समेत हेरिएको छ ।
निर्वाचन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म यस क्षेत्रमा ७२ हजार ५ सय ५४ मत खसिसकेको छ । यहाँ कुल १ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेका छन् । दिउँसोसम्मको विवरणअनुसार करिब आधाभन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी भइसकेका छन् ।
मतदान बिहानैदेखि शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अधिकांश मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको लाम देखिएको थियो भने वृद्धवृद्धा, महिला तथा युवाहरूको सहभागिता उल्लेख्य रहेको छ ।
यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उमेदवार गरी कुल २४ जना उमेदवार चुनावी मैदानमा छन् । प्रमुख दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
सुरक्षा व्यवस्थालाई कडा बनाइ मतदान केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा म्यादी प्रहरी परिचालन गरिएको छ । हालसम्म कुनै अप्रिय घटना नघटेको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको जिल्ला प्रशासन र सुरक्षा निकायले जनाएका छन् ।
झापा–५ लाई राष्ट्रिय राजनीतिका कारण पनि विशेष चासोका साथ हेरिएको छ । त्यसैले मतदाताको सहभागिता पनि उल्लेख्य देखिएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij