चीनको आर्थिक हब सांघाईमा दुई महिनादेखिको लकडाउन अन्त्य भएको छ। सरकारले प्रतिबन्ध केही खुकुलो पारेरे लकडाउन हटाउने निर्णय गरेको हो।
कोरोना भाइरसको नया संक्रमण फेरि भेटिएपछि सांघाईमा लकडाउन गरिएको थियो। सुरुवातमा केही दिनका लागि लकडाउन घोषणा गरे पनि संक्रमण दर नघटेपछि आर्थिक नगरी फेरि लामो समयसम्म बन्द भएको थियो।
लकडाउन अन्त्य भएसँगै सांघाईका व्यापारिक स्थलहरु खुल्न थालेका छन्। सडकमा सवारी धेरै निस्किँदा ट्राफिक बढेको छ।
लकडाउन खुले पनि अझै ६ लाख ५० हजार नागरिक रहने स्थल ‘सिल’ छ। खुला भएका क्षेत्रमा पनि ७५ प्रतिशत अकुपेन्सीमा मात्रै व्यापार संचालन गर्न पाइनेछ। रेष्टुराँहरु खुले पनि बसेर खाना खान रोक लगाइएको छ। सिनेमा, संग्रहालय र जिमहरु बन्द छन्। विद्यार्थीहरुका लागि अझै विद्यालय बन्द रहनेछन्।
सार्वजनिक यातायातमा यात्रा गर्न चाहने, बैंक जान चाहने, रेष्टुराँ वा बजारमा जान चाहनेले पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ। यस्तो रिपोर्ट ७२ घण्टाभन्दा पुरानो हुन हुँदैन। यस्तै, अन्य शहरबाट आउने नागरिकले ७ देखि १४ दिनको क्वारेन्टाइन बस्नुपर्नेछ।
 
                     
                         
                                             
                                                     
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                    
 
                         
                         
                         
                         
                        