२०८३ मंसिर १३ गते आइतवार
काठमाडौं । पूर्वी सिमाना झापाबाट फर्सीको बियाँ भारत तस्करी हुने गरेका पाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले झापाका विभिन्न स्थानमा ठुलो परिणाममा फर्सीका बियाँ नियन्त्रणमा लिन थालेपछि फर्सीका बियाँको तस्करी हुने गरेको खुलेको हो ।
व्यापारीले तेस्रो मुलुकबाट फर्सीका बियाँ नेपाल आयत गरी अवैध रूपमा भारत निर्यात गर्ने गरेको पाइएको हो । यस अघि पूर्वी नाकाबाट सुपारी तस्करी हुने गरेको थियो ।
अहिले सुपारीको स्थानमा फर्सीका बियाँ तस्करी हुन थालेको छ । भारत र बङ्गलादेशमा फर्सीको बियाँको ठुलो माग रहेको छ । भारतमा फर्सीको बियाँ आयात गर्दा उच्च भन्सार महसुल लाग्ने गर्दछ।
त्यसैले भन्सार महसुल छलेर ठुलो नाफा कमाउन तस्करहरूले खुल्ला सीमाको फाइदा उठाउँदै भारत लैजाने गरेको प्रहरीले जनाएको छ । भारत र बङ्गलादेशमा फर्सीको बियाँलाई स्वास्थ्यवर्धक परिकार सुपरफुडको रूपमा प्रयोग गर्ने गरिएको छ । यस्तै फर्सीको बियाँ औषधि र कस्मेटिक उद्योगमा प्रयोग हुने गरेको छ । फर्सीको बियाँ चीनबाट नेपाल आयत गर्ने गरिन्छ ।
नेपालमा बियाँ आयत गर्दा १० प्रतिशत भन्सार महसुल लाग्ने गर्छ । नेपालमा फर्सीको बियाँको होलसेल मूल्य ६ सय देखि ७ सय रुपैयाँ पर्ने गरेको छ । नेपालका सुपरमार्केट तथा पसलहरूमा प्रशोधित र प्याक गरिएको फर्सीको बियाँ प्रति किलो एक हजार रुपैयाँ सम्ममा विक्री हुने गरेको छ ।
भारतमा भने भारतमा भने १२८० रुपैयाँ देखि २ हजार रुपैयाँ नेपाली रुपैयाँमा विक्री हुने गरेको छ । नेपालबाट भारत फर्सीको बियाँ पुर्याउँदा किलोमा नै ५ सय रुपैयाँ सम्म फाइदा हुने गरेको छ ।
भारतमा भने चीनबाट फर्सीको बियाँ आयत गर्दा ३० प्रतिशत भन्सार महसुल लाग्ने गर्छ । त्यो सँगै जीएसटी लगायतका अन्य कर समेत जोडिने हुँदा भारतमा तेस्रो मुलुकबाट फर्सीको बियाँ आयत गर्दा महँगो हुने एक व्यापारीले बताए ।
भारतमा कृषि जन्य उत्पादन आयातमा कानुनी झमेला समेत रहेकाले पनि नेपालमा आयत गरेर अवैध बाटो भारत पुर्याउने गिरोह सक्रिय रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
४८५ बोरा नियन्त्रणमा
झापा र इलाम जिल्लाको सिमाना मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गल इलाकामा ४८५ बोरा फर्सीको बियाँ बरामद भएको छ । बोरामा १९ हजार ४०० केजी फर्सीको बियाँ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
भालुखोपको जङ्गल इलाकामा सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाको टोली खटिएर बेवारिसे अवस्थामा रहेको फर्सीको बियाँ बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काकँरभिट्टामा ल्याई बुझाउने प्रक्रियामा रहेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले जानकारी दिए । उक्त फर्सीको बियाँको मूल्य अन्दाजी एक करोड १६ लाख ४० हजार रुपैयाँ रहेको जनाइएको छ ।
बिओपी बाहुण्डाँगीबाट खटिएको मोबाइल गस्ती टोलीबाट प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेड क्वाटर झापाबाट टोली खटिएको थियो । पछिल्लो समय झापामा तस्करी बढ्दै गएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij