२०८३ मंसिर १३ गते आइतवार
काठमाडौं । खसीको मासु भन्दै बाख्री र पाठीको मासु बिक्री गर्न खोजेको आरोपमा काठमाडौंमा आठ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ५ सय ६७ किलो मासु बरामद गरेको छ।
काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा शनिबार बिहान करिब ४ बजे प्रहरीले छापा मारेको थियो। जाँचका क्रममा दुईवटा गाडीमा बाख्री तथा पाठीको मासु लोड भइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री वितरण गर्ने गरिएको सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको हो। प्रहरीले मासुसहित बीएडी ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा रहेका छन्।
त्यसैगरी काभ्रेपलाञ्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेकै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij