Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

images

  • 211
    Shares

    इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटाको प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।

    नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी सभापति गगन थापालगायतका व्यक्तिहरूलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पारिएको भन्ने विषय गम्भीर रहेको उल्लेख गरेका छन् । हिरासतमा रहेका सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले गम्भीर प्रश्नहरू जन्माएको उनको भनाइ छ ।

    नेता आङदेम्बेले अनुसन्धानका नाममा हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गरेर तयार पारेको कागज पढ्न बाध्य पारिएको र नमाने फसाइदिने धम्की दिइएको भन्ने विषय सत्य हो भने त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने उल्लेख गरेका छन् ।

    आङदेम्बेले सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ भनी प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रश्न गरेका छन् । उनले राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरिनु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत भएको समेत बताएका छन् ।

    ‘सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ’, आङदेम्बेले भनेका छन्, ‘यदि यस्ता गतिविधि भइरहेका छन् भने यो राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो ।’

    उनले नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौँदेखि लड्दै आएको पार्टी भएकाले यसमा आफ्नो अडान कायम रहेको स्पष्ट पारेका छन् ।

    राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार नभएको उल्लेख गर्दै आङदेम्बेले सरकार क्षणिक सनकमा नभई संविधान र विधिको शासनमा चल्नुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।

    उक्त प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १३:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij