२०८३ मंसिर १३ गते आइतवार
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयअगाडि धर्ना दिएको छ।
महासङ्घले दोस्रो चरणको आन्दोलनअन्तर्गत आज रास्वपा कार्यालयअगाडि धर्ना दिएको हो। सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको आरोप लगाउँदै महासङ्घ आन्दोलनमा उत्रिएको हो।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पुर्याउनेमाथि कारबाही नभएको महासङ्घको आरोप छ।
त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लङ्घन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम उपलब्ध नगराइएको विषयलाई पनि महासङ्घले आन्दोलनको कारण बनाएको छ।
महासङ्घका अनुसार दोस्रो चरणको आन्दोलनअन्तर्गत मंसिर १३ गते रास्वपा, १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ।
यसैगरी, मंसिर २० गते काठमाडौंको माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको महासङ्घले जनाएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न सरकार तथा राजनीतिक दलहरूलाई दबाब दिने उद्देश्यले आन्दोलनका कार्यक्रम अघि बढाइएको महासङ्घले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij