२०८३ मंसिर १३ गते आइतवार
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा डा. गोविन्द केसीले महोत्तरीको बर्दिबासमा २६औँ सत्याग्रह बस्ने चेतावनी दिएका छन्। सरकारले यसअघि आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै केसीले पुनः सत्याग्रहको तयारी गरेका हुन्।
गत कात्तिक दोस्रो साता इलाम पुगेर २५औँ सत्याग्रह सुरु गरेका केसीले कात्तिक २१ गते सरकारसँग ६ बुँदे सहमति गरेपछि अनशन तोडेका थिए।
सरकारसँग भएको सहमतिको पाँचौँ बुँदामा बर्दिबासमा मेडिकल कलेज स्थापना तथा सञ्चालनको प्रक्रिया तत्काल अगाडि बढाउने उल्लेख थियो। तर, सरकारले सहमति कार्यान्वयनमा चासो नदेखाएको भन्दै केसी असन्तुष्ट बनेका हुन्।
सोही सहमति कार्यान्वयनका लागि सरकारलाई दबाब दिन उनी शनिबार नै महोत्तरीको बर्दिबास पुगेका छन्। केसीले बर्दिबास मेडिकल कलेज स्थापनाका लागि दबाब दिन आफू सत्याग्रह बस्ने तयारीसहित आएको बताएका छन्।
उनले आइतबार मेडिकल कलेज स्थापना गर्ने प्रस्तावित क्षेत्रको स्थलगत अवलोकनसमेत गरेका छन्। अवलोकनका क्रममा स्थानीय राजनीतिक अगुवाहरूसँग छलफल गर्दै मेडिकल कलेज स्थापनाको माग पूरा नभए पुनः सत्याग्रहमा बस्ने निर्णय सुनाएका थिए।
हाल केसी बर्दिबास नगरपालिका–१ निवासी आफ्ना नातेदार सरोज केसीको निवासमा बस्दै आएका छन्।
सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै केसीले पुनः सत्याग्रहको चेतावनी दिएपछि बर्दिबास मेडिकल कलेज स्थापना गर्ने विषय फेरि चर्चामा आएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij