Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने

शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने


  • 260
    Shares

    • images
    शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने

    काठमाडौं ।  बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा लामो निर्वासनपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने तयारी गरेकी छन् । 

    उनले आफ्नो स्वदेश फिर्तीका लागि भारतको दिल्लीबाट बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्स व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेकी छन् ।

    डिसेम्बर १६ बंगलादेशले पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेको दिन अर्थात् विजय दिवस हो । हसिनाले यही दिन स्वदेश फर्किने इच्छा व्यक्त गरेकी हुन् । उनको प्रवक्ता सैयद मोजम्मेल अलीका अनुसार हसिनाले पहिलोपटक स्वदेश फर्किने निश्चित मिति सार्वजनिक गरेकी हुन् ।

    हसिना २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि सत्ता छाडेर भारतको दिल्ली पुगेकी थिइन् । त्यसपछि उनी भारतमै निर्वासनमा रहँदै आएकी छन् । हालै उनले नयाँ राहदानीलगायत आवश्यक कागजात बनाउन पहल गरेकी थिइन् । 
    उनको स्वदेश फिर्तीको घोषणाले बंगलादेशमा राजनीतिक तथा कानुनी तनाव थप बढ्न सक्ने देखिएको छ । उनको पार्टीसमेत प्रतिबन्धित छ ।

    हसिनाका प्रवक्ता अलीले सन् २०२४ अगस्ट ५ मा उनलाई बंगलादेशी विमानबाट भारत पुर्‍याइएको उल्लेख गर्दै अब भारतबाट ढाका फर्किन पनि सरकारले विमान व्यवस्था गर्नुपर्ने बताएका छन् । 

    संविधानविपरीत परिस्थितिमा उनलाई देशबाहिर जान बाध्य पारिएको भन्दै स्वदेश फर्किने व्यवस्था गर्नु सरकारको दायित्व भएको उनको भनाइ छ ।

    तर, बंगलादेश सरकारले हसिना स्वदेश फर्किन भारतबाट सुपुर्दगी हुनुपर्ने अडान दोहोर्‍याएको छ । 

    गत वर्ष बंगलादेशको अदालतले विद्यार्थी आन्दोलन दबाउने क्रममा घातक बल प्रयोग गर्न आदेश दिएको अभियोगमा हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । हसिनाले निर्वासनबाट उक्त आरोप अस्वीकार गर्दै आएकी छन् ।

    बंगलादेशका विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले हसिनालाई दोषी ठहर भएको अपराधी र फरार व्यक्ति भन्दै सुपुर्दगी सन्धिअन्तर्गत मात्रै स्वदेश फर्किन सक्ने बताएका छन् । उनका अनुसार हसिना हतकडी लगाएर र कडा निगरानीमा मात्रै बंगलादेश प्रवेश गर्न पाउनेछिन् ।

    हसिनालाई सुपुर्दगी गर्ने बंगलादेशको अनुरोधबारे भारतले गत अप्रिलमा विचार गरिरहेको जनाएको थियो । भारतको विदेश मन्त्रालयले नयाँ सरकारसँग रचनात्मक संवाद गर्दै द्विपक्षीय सम्बन्ध थप बलियो बनाउने इच्छा व्यक्त गरेको थियो । तर, पछिल्लो आग्रहबारे भारतले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

    हसिनालाई स्वदेश फर्काउन विमान व्यवस्था गर्ने विषयमा बंगलादेशले कुनै छलफल नगरेको एक मन्त्रीले बताएका थिए । हसिना स्वदेश फर्किए पक्राउ गरी जेलमा राखिने सरकारी भनाइ छ ।

    हसिनालाई मृत्युदण्ड सुनाएको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य अभियोजक अमिनुल इस्लामले पनि दोषी ठहर भएको फरार व्यक्तिले सरकारसँग स्वदेश फर्किने व्यवस्था माग्नु उचित नभएको बताएका छन् ।

    संयुक्त राष्ट्रसंघका अनुसार हसिनालाई सत्ताबाट हटाउने आन्दोलन र त्यस क्रममा भएको हिंसामा १ हजार ४ सय जनासम्मको मृत्यु भएको थियो ।

    एजेन्सी

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - ११:४८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij