Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

ओडिशाको गोपालपुर तटमा ठोक्कियो चक्रवात ‘अक्वान’

ओडिशाको गोपालपुर तटमा ठोक्कियो चक्रवात ‘अक्वान’


  • 246
    Shares

    • images
    ओडिशाको गोपालपुर तटमा ठोक्कियो चक्रवात ‘अक्वान’

    काठमाडौं । भारतको ओडिशा राज्यस्थित गोपालपुर तटीय क्षेत्र नजिकै शुक्रबार बिहान चक्रवात ‘अक्वान’ जमिनमा ठोक्किएको छ। 

    चक्रवातका कारण राज्यका विभिन्न भूभागमा भीषण वर्षा भए पनि हालसम्म कुनै ठुलो भौतिक वा मानवीय क्षति नभएको त्यहाँका विपद् व्यवस्थापन मन्त्री सुरेश पुजारीले जानकारी दिएका छन्। 

    भुवनेश्वरस्थित मौसम विज्ञान केन्द्रकी निर्देशक मनोरमा मोहन्तीका अनुसार बिहान करिब ८ बजे सुरु भएको चक्रवातको ल्यान्डफल प्रक्रिया मध्याह्नसम्म जारी रहने आकलन गरिएको थियो। जमिनमा प्रवेश गर्ने क्रम सुरु भएसँगै यो तीव्र चक्रवाती आँधीबाट सामान्य चक्रवाती आँधीमा परिणत भई कमजोर बनेको हो।

    भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाको तटीय क्षेत्र पार गर्दा चक्रवात उत्तर(उत्तरपश्चिम दिशातर्फ प्रतिघण्टा २६ किलोमिटरको गतिमा अघि बढिरहेको थियो। बिहान १०स्३० बजेको विवरण अनुसार यो प्रणाली ओडिशाको पुरीबाट करिब ११० किलोमिटर तथा आन्ध्र प्रदेशको कलिङ्गपटनमबाट १३० किलोमिटर टाढा अवस्थित थियो। 

    त्यस समयमा आँधीको निरन्तर गति प्रतिघण्टा ६० देखि ७० किलोमिटर र झोक्का प्रतिघण्टा ८० किलोमिटरसम्म मापन गरिएको थियो। मौसम विभागले यो मौसमी प्रणाली क्रमशः ‘डिप डिप्रेसन’ हुँदै सामान्य ‘डिप्रेसन’मा परिणत भएर अझै कमजोर बन्ने पूर्वानुमान गरेको छ।

    चक्रवातको प्रभावका कारण ओडिशाभर भारी वर्षा रेकर्ड गरिएको छ। गन्जाम जिल्लाको पात्रापुरमा सबैभन्दा धेरै २०९ मिलिमिटर वर्षा भएको छ। यसैगरी हिन्जिलीमा २०७, चिकिटीमा १९९, गोपालपुरमा १९० र छत्रपुरमा १३९ मिलिमिटर वर्षा मापन भएको छ। 

    तीव्र गतिको हावाले ठुलो असर नपारे पनि विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको मुख्य सचिव अनु गर्गले बताएकी छन्। उद्धार तथा तयारीबारे जानकारी दिँदै उनले भनिन्, ‘हालसम्म ३ लाख ७० हजार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको छ र हाम्रा अधिकारीहरूले स्थलगत रूपमै अवस्थाको सूक्ष्म अनुगमन गरिरहेका छन्।’

    नागरिकहरूको सुरक्षाका निम्ति राज्य सरकारले जोखिमयुक्त क्षेत्रहरूमा ४२३ वटा उद्धार टोली परिचालन गर्नुका साथै ९ हजार ३४१ वटा चक्रवात आश्रयस्थल सञ्चालनमा ल्याएको छ।

    पछिल्लो २४ दिनको अवधिमा ओडिशालाई प्रभावित पार्ने ‘अक्वान’ तेस्रो चक्रवात हो। सुरुमा आन्ध्र प्रदेशतर्फ जाने अनुमान गरिए पनि पछि यस आँधीले आफ्नो मार्ग बदलेको थियो। उत्तर हिन्द महासागर क्षेत्रका लागि तय गरिएको चक्रवात नामकरण प्रणाली अन्तर्गत यसको नाम ‘अक्वान’ इरानले प्रस्ताव गरेको हो।

    एजेन्सी

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १३:४५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij