Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति


  • 316
    Shares

    • images
    कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

    काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (युएनएफसिसिसी)अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१)मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ ।

    यो निर्णय औपचारिक रूपमा पारित भएसँगै पहिलो पटक हिमाल, हिमाली पारिस्थितिक प्रणाली र हिमनदीमा निर्भर समुदायले युएनएफसिसिसी प्रक्रियामा आफ्नै छुट्टै र औपचारिक स्थान पाउने छन् । सम्मेलन निर्धारित समय (यही नोभेम्बर ९ देखि २०) भन्दा केही दिन पछिसम्म लम्बिएको र अझै अन्तिम निर्णय सार्वजनिक नभएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।

    वार्तामा पक्ष राष्ट्रहरूबीच हिमालसम्बन्धी विषयमा सहमति भइसकेको छ । यसको औपचारिक स्वीकृति र घोषणा कोप-३१ को समापन पूर्ण बैठकमा कोप निर्णयको रूपमा हुन बाँकी छ । सगरमाथाको देश नेपालका लागि यो निर्णय एउटा कोसेढुङ्गा हो । नेपालले वर्षौँदेखि उठाउँदै आएको हिमालको एजेन्डाले अन्तत: विश्व जलवायु वार्तामा मान्यता पाएको छ ।

    सम्मेलनमा हालसम्म भएको सहमतिअनुसार प्रस्तावित निर्णयको अनुच्छेद २२ र २३ मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी विषय समेटिएको छ । जसअनुसार हिमाली क्षेत्र, हिमाली पारिस्थितिक प्रणाली र हिमनदीमा निर्भर समुदाय जलवायु परिवर्तनको प्रतिकूल प्रभावप्रति अत्यन्त जोखिममा रहेको विषय सम्मेलनले औपचारिक रूपमा स्वीकार गरेको छ ।

    त्यस्तै कार्यान्वयनसम्बन्धी सहायक निकाय (एसबिआई) र वैज्ञानिक तथा प्राविधिक सल्लाहसम्बन्धी सहायक निकाय (एसबिएसटिए)अन्तर्गत दुई वर्षे ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गरिएको छ । यसले अनुकूलन, विपद् जोखिम न्यूनीकरण, उत्थानशीलता निर्माण, तथ्याङ्क तथा अवलोकन र पूर्वसूचना प्रणाली सुदृढ गर्ने लक्ष्य राखेको छ ।

    त्यसैगरी जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथा प्राविधिक सल्लाह दिने निकायका ६६औँ र ६८औँ बैठक (एसबिएसटिए ६६ र एसबिएसटिए ६८) मा ‘हिमाल तथा जलवायु परिवर्तन संवाद’ आयोजना गरिनेछ । 

    उक्त संवादको निष्कर्षसहितको प्रतिवेदन कोप-३३ र पेरिस सम्झौताका पक्ष राष्ट्रहरूको दशौँ बैठक (सिएमए १०) मा पेस गरिनेछ । साथै कोप-३२ मा अध्यक्षताको मार्गदर्शनमा हिमाल र जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय संवाद गरिनेछ ।

    निरन्तर पैरवीको उपलब्धि

    कृषि, वन तथा पर्यावरण मन्त्रालयले हालसम्मको यो उपलब्धिलाई सरोकारवाला सबैको निरन्तर पैरवीको परिणाम भनेको छ । सम्मेलनको पहिलो साता परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्ताल्या नेतृत्व शिखर सम्मेलनमा हिमालको मुद्दा विश्व नेताहरूसामु राखेका थिए । त्यसपछि वनमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विश्वमञ्चका विभिन्न वार्ता, कार्यक्रम र द्विपक्षीय भेटवार्तामा सहभागी भई निरन्तर पैरवी गरेकी थिइन् । 

    रासस

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १५:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij