२०८३ कार्तिक ३० गते सोमवार
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ ।
पार्टीको केन्द्रिय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिँदै भेलामा केन्द्रिय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिको सहभागिता रहने बताए । उनकाअनुसार पार्टीको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रिय नेतृत्व र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरिएको हो ।
सहभागी संख्याका आधारमा महाधिवेशनपछिको ठूलो कार्यक्रमका रूपमा भेलालाई लिइएको बताउनु भयो । भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । आचार्यकाअनुसार भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु तथा वैचारिक र संगठनात्मक एकतालाई थप मजबुत बनाउनु हो ।
साथै मुलुकमा पछिल्लो समय देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य पनि भेलाले राखेको छ । भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नुहुनेछ । उहाँले पार्टी केन्द्रिय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामका विषयमा पनि राजनीतिक तथा वैचारिक मार्गनिर्देशन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्नुहुनेछ । भेलामा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रश्तुत गर्नुहुनेछ भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा प्रश्तुत गर्नुहुनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij