२०८३ कार्तिक ३० गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको अध्यक्षमा मिनहाज खानलाई मनोनीत गरेको छ ।
समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशाङ्क कोइरालाले काठमाडौँ महानगरपालिका–९ निवासी खानलाई अध्यक्ष पदमा मनोनीत गरेका हुन् ।
डा. कोइरालाले पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम खानलाई अध्यक्षमा मनोनयन गरिएको जानकारी पत्रमार्फत दिएका छन् ।
मनोनयन पत्रमा खानलाई पार्टीका स्थापित मूल्य–मान्यता आत्मसात् गर्दै आगामी ६ महिनाभित्र नेपाल मुस्लिम सङ्घको महाधिवेशन सम्पन्न गर्ने कार्यादेशसमेत दिइएको छ ।
यसअघि देउवा समूहले पार्टीका विभिन्न भ्रातृ संस्थामा समानान्तर समिति गठन गरिसकेको छ । समूहले नेपाल तरुण दलको अध्यक्षमा दिल लामा, नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा सिर्जना मल्ल, नेपाल आदिवासी जनजाति सङ्घको अध्यक्षमा अमिर लामा मोक्तान, नेपाल सांस्कृतिक सङ्घको अध्यक्षमा अर्जुन गिरी, लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा विकास थापा, नेपाल दलित सङ्घको अध्यक्षमा यमुना विश्वकर्मा र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको अध्यक्षमा सुबोध प्रधानलाई मनोनीत गरेको थियो ।
नेपाल मुस्लिम सङ्घको अध्यक्षमा खानको मनोनयनसँगै देउवा समूहले भ्रातृ संस्थाहरूमा समानान्तर नेतृत्व विस्तारलाई निरन्तरता दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij