२०८३ कार्तिक २९ गते आइतवार
काठमाडौं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा प्रयोग गरिएको खुलामञ्चको सुन्दरता फर्काउने उद्देश्यले आईतवार दुबो रोपिएको छ । महाधिवेशनका क्रममा खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेपछि त्यसलाई पुरानै अवस्थामा फर्काउने प्रतिवद्धताअनुसार दुबो रोपिएको नेपाली काँग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले बताए ।
उनका अनुसार सार्वजनिक स्थल प्रयोग गरेपछि त्यसको संरक्षण र सुन्दरता कायम राख्नु सबैको साझा जिम्मेवारी हो । काँग्रेसजस्तो ठूलो राजनीतिक दलले अधिवेशन आयोजना गरेपछि मैदानमा देखिएको क्षति सुधार गर्नु अन्य राजनीतिक दल, संघसंस्था र व्यक्तिका लागि पनि सन्देश बन्ने उनको भनाइ छ । उनले सार्वजनिक स्थानमा कार्यक्रम आयोजना गर्दा त्यसबाट हुनसक्ने क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्नेमा जोड दिए।
कुनैपनि स्थान प्रयोग गरिसकेपछि त्यसलाई पहिलेकै अवस्थामा फर्काउने जिम्मेवारी सम्बन्धित आयोजककै हुने उनको भनाइ छ । खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेको स्थानमा दुबो रोपेर त्यसको प्राकृतिक सुन्दरता पुनः कायम गर्ने प्रयास गरिएको उनले बताए । रोपिएको दुबो प्राकृतिक रूपमा पनि फैलिँदै जाने उल्लेख गर्दै गौतमले केही समय त्यसको नियमित हेरचाह र संरक्षणसमेत गरिने जानकारी दिए।
उनले सार्वजनिक सम्पतीको संरक्षण गर्ने संस्कार विकास गर्नुपर्ने भन्दै राजनीतिक दल तथा अन्य संघसंस्थाले सभा, सम्मेलन र कार्यक्रम गर्दा स्थलको सरसफाई तथा संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए ।






© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij