२०८३ कार्तिक २७ गते शुक्रवार
काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ। भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन पार्टीले आवश्यक व्यवस्थापकीय कामलाई अन्तिम चरणमा पुर्याएको छ।
भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार १६४ जनाको सहभागिता रहने एमालेले जनाएको छ।
तयारीलाई अन्तिम रूप दिन पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बैठक बसेको थियो। बैठकमा विभिन्न प्रदेशबाट आउने प्रतिनिधिको सहभागिता, आवास तथा व्यवस्थापन र कार्यक्रम सञ्चालनसम्बन्धी विषयमा समीक्षा गरिएको थियो।
बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए।
उनका अनुसार पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा धारणा निर्माण गर्दै पार्टी पंक्तिलाई स्थानीय निर्वाचनको तयारीमा परिचालन गरिनेछ।
बैठकमा पार्टी सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायत नेताहरूको उपस्थिति थियो। विभिन्न प्रदेशबाट भेलाको तयारीमा खटिएका फोकल पर्सनहरूले आफ्नो प्रदेशबाट हुने सहभागिताबारे जानकारी गराएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij