Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

विराटनगर विजयी हुँदा पोखरा प्लेअफ दौडबाट बाहिरियो

विराटनगर विजयी हुँदा पोखरा प्लेअफ दौडबाट बाहिरियो


  • 211
    Shares

    विराटनगर विजयी हुँदा पोखरा प्लेअफ दौडबाट बाहिरियो
    images

    काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

    यस जितसँगै विराटनगरले ६ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । विराटनगरको प्लेअफ सम्भावना कायम रहेको छ । लिग चरणको अन्तिम खेलमा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

    यता, पोखराको भने ६ खेलमा यो पाँचौँ हार हो । २ अंकमा सीमित पोखरा अंकतालिकाको पुछारमा रहँदै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।

    विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३७ रन बनाए । उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर लोकेश बमले २७ बलमा ३३ रनको योगदान दिए ।

    त्यस्तै, इसुरु उडानाले १२ बलमा ४ चौका र १ छक्कासहित अविजित २५ रन बनाए । उनले नै विजयी चौका प्रहार गरेका थिए । शेहान जयासूर्याले १७ रनमा अविजित रहे ।

    पोखराका लागि कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ विकेट लिए भने बिपिन खत्री र धनन्जय लक्षणले १–१ विकेट हात पारे ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमै अलआउट भएको थियो । पोखराका लागि युवराज सिंह सम्राले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रन बनाए ।

    उनलाई धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाउँदै साथ दिए । अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् ।

    एक समय ७६ रनमा ५ विकेट गुमाएको पोखराका लागि युवराज र धनन्जयले छैटौँ विकेटमा ४६ रनको साझेदारी गरेका थिए । तर, अन्य ब्याटर टिक्न नसक्दा पोखरा सामान्य योगफलमै समेटियो ।

    विराटनगरका कप्तान सन्दीप लामिछानेले पोखराको ब्याटिङ ध्वस्त पार्ने क्रममा ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । उनले इनिङ्सको १५औँ ओभरमा लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरे ।

    यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पनि ह्याट्रिक गरेका थिए ।

    सन्दीपले यसअघि प्रतियोगिताका पाँच खेलमा मात्र एक विकेट लिएका थिए । तर, पोखराविरुद्धको एकै खेलमा ६ विकेट लिँदै उनले उत्कृष्ट पुनरागमन गरेका छन् ।

    एनपीएलमा एकै खेलमा ६ विकेट लिने सन्दीप तेस्रो खेलाडीसमेत बनेका छन् । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले पनि एकै खेलमा ६ विकेट लिएका थिए ।

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - १६:२१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij