२०८३ कार्तिक २६ गते बिहिवार
काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ऐतिहासिक प्रदर्शन गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सविरुद्धको खेलमा सन्दीपले उत्कृष्ट बलिङ गर्दै विपक्षी टोलीका ६ खेलाडीलाई पेभेलियन फर्काएका हुन्।
सन्दीपले खेलको सातौँ ओभरको दोस्रो बलमा अर्जुन घर्तीलाई आउट गर्दै विकेटको खाता खोलेका थिए। त्यसपछि ११औँ ओभरको दोस्रो बलमा सन्नी विकेलाई आउट गरे।
खेलको १५औँ ओभरमा भने सन्दीपले लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। उनले ओभरको तेस्रो बलमा युवराज साम्रा, चौथो बलमा चमिका करुणारत्नेलाई आउट गरे भने त्यसपछिको बलमा किरण ठगुन्नाको विकेट लिए।
यससँगै सन्दीप एनपीएलमा ह्याट्रिकसहित ६ विकेट लिने पहिलो बलर बनेका छन्। टी–२० करियरमा समेत यो उनको उत्कृष्ट बलिङ प्रदर्शन हो।
एनपीएलको इतिहासमा यसअघि साहब आलम, रोहित पौडेल र प्रतिश जिसीले ह्याट्रिक लिइसकेका छन्। सन्दीपको यो प्रदर्शनले एनपीएलमा नयाँ कीर्तिमान कायम गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij