२०८३ कार्तिक २६ गते बिहिवार
काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेको घातक बलिङपछि पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा १३२ रनमै अलआउट भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनाएको हो। पोखराका लागि ओपनर युवराज सिंह सम्राले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
सम्राले ४७ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ८४ रन बनाए। त्यस्तै धनञ्जय लक्षणले २२ र सन्नी विकले १२ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
७६ रनमा ५ विकेट गुमाएको अवस्थामा सम्रा र धनञ्जयले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गर्दै पोखराको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। तर, अन्य खेलाडीले साथ दिन नसक्दा पोखरा सस्तैमा समेटियो।
विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले खेलको १५औँ ओभरमा लगातार तीन बलमा युवराज सम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नालाई आउट गर्दै ह्याट्रिक पूरा गरे।
यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो खेलाडी बनेका छन्। यसअघि काठमाडौँ गोर्खाजका साहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए।
सन्दीपले यसअघि खेलेका पाँच खेलमा जम्मा एक विकेट लिएका थिए। तर, पोखराविरुद्धको खेलमा एकैपटक ६ विकेट लिँदै उनले आफ्नो बलिङ क्षमता प्रमाणित गरेका छन्।
एनपीएलमा एकै खेलमा ६ विकेट लिने सन्दीप तेस्रो खेलाडीसमेत बनेका छन्। यसअघि साहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए।
विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले पनि एक–एक विकेट लिए। अब पोखराले विराटनगरसामु जितका लागि १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij