Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

४१ वर्षपछि आमासँग भेटिए छुट्याइएका दुई छोरा

४१ वर्षपछि आमासँग भेटिए छुट्याइएका दुई छोरा


  • 302
    Shares

    ४१ वर्षपछि आमासँग भेटिए छुट्याइएका दुई छोरा
    images

    काठमाडौं । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाट आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकी परिवारलाई सुपुर्द गरिएका दुई दाजुभाइ ४१ वर्षपछि जैविक आमासँग पुनर्मिलन भएका छन्। लामो समयदेखि सन्तान वियोगको पीडा भोग्दै आएकी ६६ वर्षीया तेरेसिता डे जेसस पादिलाले अन्ततः आफ्ना छोराहरूलाई भेट्न पाएकी हुन्।

    ४९ वर्षीय टिम रोलोनिक र ३७ वर्षीय ट्राभिस मर्डक अमेरिकामा हुर्किएका थिए। आफूहरूलाई अर्को परिवारले हुर्काएको जानकारी भए पनि जन्म दिने आमाबाट कसरी छुट्याइयो भन्ने उनीहरूलाई थाहा थिएन।

    रोलेनकले सन् २०२० मा डीएनए परीक्षणमार्फत आफ्नो वास्तविक परिवार चिलीमा रहेको पत्ता लगाए । त्यसपछि आफन्त र परिवार पुनर्मिलनमा सहयोग गर्ने संस्थाहरूको सहायताले आफ्ना भाइहरू पनि अमेरिकामै रहेको जानकारी पाए । उनका जुम्ल्याहा भाइ ट्राभिस र क्रिसलाई पनि चार वर्षको उमेरमा आमाबाट अलग गरी अमेरिकी दम्पतीको जिम्मा लगाइएको रहेछ ।

    तीनै दाजुभाइबीच सम्पर्क भएपछि उनीहरूबीच घनिष्ठ सम्बन्ध स्थापित भयो । पहिलो सम्पर्क भएको छ वर्षपछि रोलेनक र ट्राभिस चिली पुगेर आमासँग भेटेका हुन् । सन् २०२३ को सडक दुर्घटनामा गम्भीर घाइते भएका अर्का भाइ क्रिस भने स्वास्थ्य अवस्थाका कारण चिली जान सकेनन् ।

    चिलीको न्यायिक प्रतिवेदनअनुसार पिनोचेको १७ वर्षे शासनकालमा जबर्जस्ती वा आपराधिक रूपमा बालबालिकालाई अन्य परिवारको जिम्मा लगाइएका करिब २० हजार घटना भएका थिए । नागरिक संस्था ‘नोस बुस्कामोस’का अनुसार यसबाट प्रभावित परिवारको सङ्ख्या ५० हजारभन्दा बढी हुन सक्छ ।

    संस्थाकी निर्देशक कन्स्टान्जा डेल रियोका अनुसार गरिब तथा विपन्न महिलाहरू यस्तो अवैध सञ्जालको मुख्य निशानामा पर्ने गरेका थिए । यसमा सामाजिक कार्यकर्ता, चिकित्सक, न्यायाधीश र वकिलसमेत संलग्न थिए ।

    पिनोचेको शासनकालमा कम्तीमा तीन हजार ९५ जनाको हत्या वा जबर्जस्ती बेपत्ता पारिएको थियो भने दशौँ हजार मानिसलाई राजनीतिक कारणले यातना दिइएको वा जेलमा राखिएको थियो ।

    पहिलादेखि बाल्यकालदेखि नै गरिबीसँग सङ्घर्ष गर्दै आएकी थिइन् । गर्भवती भएपछि अस्पतालले आफ्ना सन्तानको राम्रो भविष्य बनाउन सहयोग गर्ने विश्वास गरेकी थिइन् । तर अस्पतालले उनका सन्तान खोसिएपछि उनले जीवनभर वियोग सहनुपर्यो ।
    ‘धम्की र त्रास देखाएर मेरा सन्तान मबाट खोसिए । त्यसको पीडा मैले जीवनभर भोग्नुपर्यो’, उनले भनेकी छन् ।

    पुनर्मिलनपछि पादिलाले आफूले सधैँका लागि गुमाएको ठानेका छोराहरू फिर्ता पाएको बताएकी छन् । ट्राभिसले पनि विगतको पीडामा अल्झिनुभन्दा अब परिवारसँग नयाँ सम्झना बनाउँदै भविष्य अघि बढाउन चाहेको बताएका छन् ।

    रासस

     

     

     

     

     

     

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - १०:४५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij