२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले अमेरिकी कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने सङ्केत गरेका छन् । उनले बिहीबार ह्वाइट हाउसस्थित ओभल अफिसको ऐतिहासिक रिजोल्युट डेस्कमा ‘भिटो’ लेखिएको ठूलो रातो टोपी प्रदर्शन गरेका हुन् ।
ओभल अफिस र मन्त्रिपरिषद् कक्षलाई पुरातन वस्तु ऐनअन्तर्गत राष्ट्रिय स्मारकका रूपमा संरक्षण गर्ने घोषणापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले उक्त टोपी प्रदर्शन गरेका थिए । यसअघि पनि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘भिटो’ लेखिएको रातो टोपीसहितको तस्बिर सार्वजनिक गरेका थिए ।
फक्स न्युजसँग कुरा गर्दै उनले राष्ट्रपतीय भिटो अमेरिकी राष्ट्रपतिका शक्तिशाली संवैधानिक अधिकारमध्ये एक भएको बताएका थिए । विपक्षी दलले आफूलाई अस्वीकार्य विधेयक ल्याए त्यसलाई भिटो गर्ने उनको चेतावनी थियो । यद्यपि, आगामी दुई वर्ष सबै विधेयकमा भिटो लगाएर बिताउने आफ्नो चाहना नरहेको उनले पोलिटिकोसँग बताएका छन् ।
डेमोक्रेटहरूको विजयपछि ट्रम्प प्रशासनमाथि कङ्ग्रेसको निगरानी, अनुसन्धान र सुनुवाइ बढ्ने तथा राष्ट्रपतिका न्यायिक र मन्त्रिपरिषद्सम्बन्धी नियुक्ति रोक्न सक्ने सम्भावना छ ।
भारतीय मूलका अमेरिकी सांसद रो खन्नाले निर्वाचन परिणामलाई ट्रम्पप्रतिको ठूलो जनअस्वीकृतिको संज्ञा दिएका छन् । उनले डेमोक्रेटहरूले प्रतिनिधिसभामा २५० भन्दा बढी सिट जित्न सक्ने दाबी गर्दै मतदाताको मुख्य चिन्ता बढ्दो जीवनयापन खर्च र जारी युद्ध रहेको बताए । स्वास्थ्य सेवा, बाल हेरचाह र दैनिक उपभोग्य वस्तुको खर्च घटाउने विषयलाई डेमोक्रेटहरूले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
अमेरिकी संविधानअनुसार राष्ट्रपतिले कङ्ग्रेसबाट पारित विधेयकमा भिटो लगाउन सक्छन् । तर त्यसलाई उल्ट्याउन प्रतिनिधिसभा र सिनेट दुवैमा दुईतिहाइ बहुमत आवश्यक पर्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij