२०८३ कार्तिक २२ गते आइतवार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारी गरिरहेका छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अर्थात् पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेकाले कम्पनीहरू लाभांश वितरण र साधारणसभाको तयारीमा जुटेका हुन् ।
यसैबीच, तिहारअघि नै लाभांश घोषणा गरिसकेका तर बुक क्लोज मिति तय नगरेका १७ वटा कम्पनीका सेयरधनीले अझै लाभांश प्राप्त गर्ने अवसर पाएका छन् । यी कम्पनीको बुक क्लोज मिति तय नभइसकेकाले तिहारपछि सेयर खरिद गर्ने लगानीकर्ताले समेत घोषित लाभांश पाउने भएका हुन् ।
लाभांश घोषणा गरेका तर बुक क्लोज मिति तय हुन बाँकी रहेका कम्पनीमध्ये ३ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, १ उत्पादन तथा प्रशोधन समूहको कम्पनी, ६ वटा जलविद्युत् कम्पनी र ५ वटा लघुवित्त संस्था रहेका छन् ।
कम्पनीहरूले सामान्यतया पहिले लाभांश घोषणा गर्ने र त्यसपछि बुक क्लोज तथा साधारणसभाको मिति तय गर्ने गर्छन् । बुक क्लोज मितिभन्दा अगाडि सेयर खरिद गरी कायम रहेका सेयरधनीले सम्बन्धित कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।
सूचीकृत कम्पनीहरूले नगद लाभांश, बोनस सेयर वा दुवै मिश्रित लाभांश घोषणा गरेका छन् । नगद लाभांश साधारणसभा सम्पन्न भएपछि सेयरधनीको बैंक खातामा जम्मा गरिन्छ । एक प्रतिशतभन्दा कम नगद लाभांश घोषणा गरिएका कतिपय अवस्थामा भने त्यस्तो रकम बोनस सेयरको कर प्रयोजनका लागि मात्रै हुने गर्छ ।
बोनस सेयर प्राप्त गर्न भने नगद लाभांशभन्दा केही बढी समय लाग्न सक्छ । बोनस सेयर धितोपत्र बोर्डमा दर्ता भएपछि मात्रै सेयरधनीको डिम्याट खातामा जम्मा हुन्छ । बोनस सेयर वितरण हुँदा बढेको सेयर संख्याअनुसार बुक क्लोजको दिन सेयर मूल्यसमेत समायोजन हुने व्यवस्था छ ।
त्यसैले लाभांश घोषणा गरिसकेका तर बुक क्लोज मिति तय नगरेका कम्पनीमा लगानी गर्नेहरूले सम्बन्धित कम्पनीको लाभांश घोषणा, बुक क्लोज मिति र साधारणसभासम्बन्धी सूचनामा ध्यान दिनुपर्ने हुन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij